११ श्रावण २०८३, सोमबार

निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो, २५ जना घाइते

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, ६ चैत । बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा घटनास्थलमै सात जनाको र अर्का एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटनाका घाइते २५ जनाको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा चार पुरुष र एक नाबालिकासहित चार महिला रहेका छन् । मृतक कसैको पनि सनाखत नभएको विकको भनाइ छ ।

बस सोमबार साँझ सवा ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । बस सडकदेखि एक सय ५० मिटर तल खसेको थियो ।

मृत्यु हुने अधिकांश रुकुमका रहेको हुँदा घटनास्थलमै मृत्यु भएका सातजनाको शव संकलन गरी रुकुम पठाइएको प्रहरी प्रमुख विकको भनाइ छ । बाटोमा मृत्यु भएकामध्ये एक जनाको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको विक बताउनुहुन्छ ।