सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

देउवाले देशको लागि मात्र होइन डडेलधुराको विकासका लागि पनि केही गर्नु भएन : केपी ओली

दैनिक नेपाल २०८० चैत ५ गते १८:०८

काठमाडौं, ४ चैत। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले देशको मात्र होइन डडेलधुराको विकासका लागि समेत केही काम गर्न नसकेको बताउनुभएको छ ।

एमाले डडेलधुराको नवौँ जिल्ला अधिवेशनको सोमबार पर्शुराममा उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले पाँच पटक प्रधानमन्त्री हुँदा पनि देउवाले देखाउन लायकको कुनै काम गर्न नसक्नु भएको बताउनुभएको हो । ‘मैले देउवाजीलाई सोधेको थिएँ पाँच–पाँच पटक प्रधानमन्त्री हुनु भयो देशको लागि के गर्नु भयो भन्दा उहाँले भन्न सक्नु भएन’, ओलीले भन्नुभयो ।

आफूले प्रधानमन्त्री हुँदा देशको विकास र समृद्धिका लागि अनेकन काम गरेको ओलीले बताउनुभयो । आफूले गरेका कामका अनेक उदाहरण दिनसक्ने उहाँको भनाइ छ । आफूले सरकारको नेतृत्व गर्दा देशै भर ठुला परियोजना एकै साथ सुरु गरेको उहाँले स्मरण गराउनुभयो ।
शेरबहादुर देउवाले खुलेआम पैसा बाँडेर चुनाव जित्ने गरेको उहाँले टिप्पणी गर्नुभयो । त्यो आफूले लगाएको आरोप नभई टेलिभिजनमा लाइभ देखिएको ओलीको भनाइ छ । ‘उहाँको जित्ने तरिका त्यही हो’, उहाँले भन्नुभयो ।

आफूले सराकारको नेतृत्व गर्दा उत्पादन वृद्धिदर सात प्रतिशत माथि पुगेको भए पनि आफू सरकारबाट हट्ने बित्तिकै अर्थतन्त्र निरन्तर अर्थतन्त्र ओरालो लागेको उहाँले स्पष्ट पार्नुभयो । सेती लोकमार्ग, महाकाली कोरिडोर, मदन भण्डारी मध्य पहाडी लोकमार्ग, ३ सय ९६ अस्पताल, सबै पालिकामा औद्योगिक ग्रामहरू लगायतका धेरै काम आफूले सुरु गरेको ओलीले बताउनुभयो ।

ओलीले डडेलधुराको विकासको लागि अब एमालेले काम गर्ने बताउनुभयो । शेरबहादुर देउवाले आफ्नै गाउँमा अस्पताल बनाउने घोषणा समेत कार्यान्वयन नगर्नुभएको उहाँले बताउनुभयो । डडेलधुराका जनताले राखेको माग एमाले समक्ष आएको बताउँदै ओलीले त्यहाँका जनताका माग एमालेले पूरा गर्ने बचन दिनुभयो ।

ओलीले एमालेका नेता र जनप्रतिनिधि जनतालाई बाटो देखाउने काम गर्नुपर्ने बताउनुभयो । कृषिमा कसरी आधुनिकीकरण गर्न सकिन्छ र त्यसलाई कसरी बजारसम्म पुर्‍याउन सकिन्छ भन्ने कुरामा ध्यान जानु पर्नेमा उहाँले जोड दिनुभयो ।

ओलीले सुदूरपश्चिमका जनता अहिले होइन पहिलादेखि नै निरङ्कुशताका विरोधी भएकाले कुनै प्रकारको निरङ्कुशता सुदूरपश्चिमले नस्विकार्ने उहाँले बताउनुभयो । भीमदत्त र दशरथ चन्द लगायतले जीवन दिएर त्यसलाई प्रमाणित गर्नुभएको ओलीले धारणा राख्नु भयो । ओलीले अब राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित