२२ असार २०८३, सोमबार

राष्ट्रिय सभाअन्तर्गतका दुई समिति सभापतिको निर्वाचन आज

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । राष्ट्रिय सभाअन्तर्गतका दुई वटा विषयगत समिति सभापतिको निर्वाचन आज हुँदैछ ।

दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज सभापति पाउँदैछन् ।

दुवै समितिको सभापतिका लागि यसअघि नै उम्मेदवारी मनोनयनका लागि समय तोकिएकोमा एक–एक जनाको मात्रै मनोनयन दर्ता भएको छ ।

दुवै समितिले सभापति चुन्न बैठक बोलाएका छन् । सोमबार बिहान साढे १० बजे सिंहदरबारमा बस्ने दिगो विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले सभापति चुन्नेछ ।

त्यस्तै, सोही समयमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले पनि सभापति चुन्ने गरी बैठक बोलाएको छ ।

बैठकबाट सभापतिहरू चुनिएलगत्तै शपथग्रहणको कार्यक्रम रहेको छ ।

दिगो विकास तथा सुशासन समिति सभापतिमा नेपाली कांग्रेसकी कमला पन्तले उम्मेदवारी दर्ता गर्नुभएको छ भने राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा पनि नेकपा (एमाले)का सोनाम ग्याल्जेन शेर्पाको मात्रै उम्मेदवारी परेको छ ।

दुवै समितिमा एक–एक जनाको मात्रै मनोनयन परेपछि निर्वाचन नगरी सोमबार बस्ने बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने तयारी छ ।

राष्ट्रिय सभामा रहेको प्रमुख चार दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले चार वटा समितिहरूमध्ये भागबण्डा गरेर एक–एक वटाको सभापति लिएका छन् ।

राष्ट्रिय सभाकै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा र विधायन व्यस्थापन समिति सभापतिमा एकीकृत समाजवादीका जयन्तीदेवी राई सभापति हुनुहुन्छ । उहाँहरुको कार्यकाल बाँकी भएकाले समितिको सभापतिमा निरन्तरता पाउनुभएको छ ।

दिगो विकास तथा सुशासन समितिको सभापतिमा यसअघि कांग्रेसका प्रकाश पन्थ सभापति हुनुहुन्थो । उहाँको कार्यकाल गत २० फागुनमा सकिएपछि कांग्रेसकै भागबाट कमला पन्तको एकल उम्मेदवारी दर्ता भएको हो । पन्तको प्रस्तावकमा कांग्रेस सांसद नारायणदत्त भट्ट र समर्थकमा एमाले सांसद शारदादेवी भट्ट हुनुहुन्छ ।

यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा यसअघि नेकपा (एमाले)की दिलकुमारी रावल (थापा) सभापति हुनुहुन्थो । उहाँको पनि कार्यकाल पनि २० फागुनमै सकिएकाले समितिको सभापतिमा एमालेकै सोनाम ग्याल्जेन शेर्पाको एकल उम्मेदवारी दर्ता भयो । शेर्पाको प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी तथा समर्थकमा नेपाली कांग्रेसका दुर्गा गुरुङ र एमालेका इन्दिरादेवी गौतम हुनुहुन्छ ।