६ असार २०८३, शनिबार

वनको डढेलो बस्तीमा सल्किँदा १७ घर जले

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम, ५ चैत । तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा आइतबार दिउँसो वनमा अचानक लागेको डढेलो बस्तीमा सल्किँदा १७ घर जलेका छन् ।

गाउँको पुछारको सल्किएको आगोले सिंगो वन सखाप पारेको छ भने वनको आसपासमा रहेका १७ वटा घर जलेर नष्ट भएका छन् ।

दिनभर अनियन्त्रित बनेको आगो प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले राति अबेर मात्रै नियन्त्रणमा लिए ।

आगलागीमा परेर १७ घर र दुई वटा गोठ जलेको गाउँपालिका अध्यक्ष केशवप्रसाद भेटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसमध्ये १० वटा घरमा अहिले पनि मानिसहरू बस्दै आएका थिए भने अन्य ७ वटा घरमा भने मान्छे थिएनन् ।

दिनमा आगलागी हुँदा कुनै मानवीय क्षति नभएपनि पशुचौपाय र धनसम्पत्ति भने जलेर नष्ट भएको छ । सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।

आगलागीले नगद, अन्नपात, लत्ताकपडा, गरगहनालगायत धनसम्पत्ति नष्ट भएको र पीडितहरूलाई राहत सामग्री वितरण थालिएको अध्यक्ष भेटवालले बताउनुभयो ।

आगलागीले मयन्तापा, बाझोगरा, टारी लगायत गाउँका चक्रबहादुर भण्डारी, पर्शुराम राई, अश्विनकुमार राई, कृष्णबहादुर घतानी, धनप्रसाद राई, कल्पना राई, सुकबिर राई, जयकुमार घतानी, मनप्रसाद राई र जयमान राईको घर जलेको छ । घर जलेपछि उहाँहरू विस्थापित हुनुभएको छ ।

त्यस्तै, हाल मान्छे नरहेका सरस्वती राई, डम्बरबहादुर घतानी, बिर्खबहादुर बुढाथोकी, चन्द्रबहादुर बुढाथोकी, लाइनबहादुर थापा, तिलबहादुर थापा र सेरबहादुर बुढाथोकीको घरमा पनि आगोले क्षति गरेको छ ।

पूर्वी पहाडमा बसाइँसराईले गाउँ रित्तिदै गर्दा गाउँको जग्गाजमिन र घर बिक्री नभएका कारण मानिसहरूले छिमेकीलाई जिम्मा छोडेर तराईतिर बसाइँ सर्नेक्रम रहेको छ ।