३० जेष्ठ २०८३, शनिबार

छोरीको भाँच्चिएको खुट्टाको उपचारका लागि आर्थिक सहयोग गरिदिन बुबाको आग्रह

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, २ चैत । हुम्लाको सिमकोट गाउँपालिका–७ का बल्चित कामीले छोरीको भाँच्चिएको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गरिदिन आग्रह गर्नुभएको छ । दुई वर्षअघि उहाँकी ११ वर्षीया छोरी माया विक छतबाट लडेर घाइते भई एउटा खुट्टा भाँच्चिएको थियो ।

घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार नपाउनुभएकी विकको अहिले भाँच्चिएको खुट्टा बाङ्गिएको छ भने उमेर बढ्दै जाँदा हिँड्डुलमा समस्या हुँदै आएको बुबाले जानकारी दिनुभयो । तत्कालीन समयमा उपचारका लागि राम्रो अस्पताल लैजान आर्थिक अभावले नसकिएको भन्दै अहिले छोरी हिड्न नसक्ने र बोल्न पनि नसक्ने भएको बुबाले दुखेसो पोख्नुभयो ।

मायाको दायाँ खुट्टा भाँच्चिएको थियो । चिकित्सिकले अहिले पनि उपचार सम्भव भएको प्रतिक्रिया दिएकाले उपचारका लागि आर्थिक सहयोगका लागि आह्वान गरिएको बुबा बल्चितले बताउनुभयो ।

स्थानीय डाडाफयाँ स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी सन्तोष बोहराले सुविधासम्पन्न हाडजोर्नीसम्बन्धी अस्पतालमा उपचार सम्भव भए पनि आर्थिक अभाव भएकाले बल्चितले छोरीको उपचारकान लागि सहयोग आह्वान गर्नुभएको बताउनुभयो ।

स्वास्थ्यकर्मी बोहराले भन्नुभयो, “अहिले पनि मायाको उपचार गर्न सकिन्छ तर खर्च बढी लाग्न सक्छ । विकको खुट्टाको उपचार गर्नका लागि परिवारको आर्थिक अवस्था कमजोर छ ।” विकका घरपरिवारले अपांग तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई छोरीको उपचारका लागि आर्थिक सहयोग माग गरिदिन आग्रह गरेको उहाँले बताउनुभयो ।