२८ असार २०८३, आइतबार

दुग्ध किसानले एक साताभित्रै भुक्तानी पाउने गरी काम गरिरहेको छु : कृषिमन्त्री साह

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले एक हप्ताभित्र सबै दुग्ध किसानको हातहातमा बक्यौता भुक्तानी पुग्ने बताउनुभएको छ । उहाँले त्यसका लागि आफूले आर्थिक प्रबन्ध मिलाउन जोड दिएर अन्तर मन्त्रालयहरुसँग समन्वय गरिरहेको जानकारी गराउनुभयो ।

मन्त्री साहले दुग्ध किसानको बक्यौता भुक्तानीका लागि शुक्रबार नै अर्थ मन्त्रालबाट ३० करोड निकासा गरी प्रकिया अघि बढाइसकेको बताउनुभयो । मन्त्री साहले भुक्तानीका लागि कृषि मन्त्रालयबाट सम्पूर्ण प्रक्रिया पूरा गरी अर्थमन्त्री वर्षमान पुनम आग्रह गरेपछि शुक्रबार तत्काल किसानको बक्यौता भुक्तानी दिने प्रक्रिया अघि बढाउन मन्त्री पुनले आफू मातहतका निकायलाई भन्नुभएको थियो ।

पुनले निर्देशन दिनुपूर्व, कृषिमन्त्री ज्वालाकुमारी साह कृषि सचिव डा. गोविन्द प्रसाद शर्मा र पशुपन्छी विकास सचिव डा. रेवतीरमण पौडेलसँग छलफल गरेरै प्रक्रिया अघि बढाएको साहल बताउनुभयो ।

अन्तर मन्त्रालयबाट ऋण लिएर ३० करोड हिजो साँझ भुक्तानीको लागि पठाएपनि त्यसले मात्रै सबै किसानको भुक्तानी चुक्ता नहुने भन्दै मन्त्री साहले दुग्ध विकास संस्थान (डिडिसी) मा रहेको सवा अरब मूल्य बराबरको सामग्रीबाट भुक्तानी मिलाएर किसानलाई वितरण गर्न सके ठूलो राहत हुने बताउनुभयो । त्यसका लागि सरोकारवाला निकायसँग आफूले छलफल गरिरहेको भनाई उहाँको छ । तर, एउटै कामलाई धेरै समय लगाएर आफूहरु अलमल गरेर बस्ने भन्दा तिव्र गतिमा नतिजा दिनेगरी बक्यौता भुक्तानिको समस्यालाई हल गर्न लागेको उहाँले जानकारी गराउनुभयो । उहाँले अबको एक हप्तामा किसानको हातमा दुधको भुक्तानी पुर्‍याउने दाबी गर्नुभयो ।

मन्त्री साहले भन्नुभयो, ‘म आफै सक्रियताका साथ लागेको छु । जबसम्म नेतृत्व तात्दैन काम रफ्तारमा हुँदैन् । जसरी आम किसानले भुक्तानी चाँडै आउँला भनेर म माथि आशा गर्नुभएको छ, सोचिराख्नु भएको छ, त्यसरी नै मैले तिव्र रफ्तारमा अर्थको व्यवस्था गर्न लागिराखेको छु । सके एक हप्ताभित्रै किसानका हातहातमा रकम पुग्छ । रिजल्ट देखिने गरी काम अगाडि बढाइराखेको छु ।’

आफूले सरकारको तर्फबाट तुरुन्तै रिजल्ट देखिने गरी समस्या हल गर्न तत्पर रहेको बताउनुभएको उहाँले प्राइभेट सेक्टरलाई पनि तुरुन्त बाँकी बक्यौता रकम भुक्तानीका लागि पत्राचार गर्ने सुनाउनुभयो । ‘हिजोबाट सरकारले भुक्तानीका लागि सुरुआत गरिसकेको छ । प्राइभेट सेक्टरले दिन बाँकी चार अर्ब रुपैयाँ भुक्तानीका लागि आजभोलिमा पत्राचार गर्छौ’ मन्त्री साहले भन्नुभयो ।

यस्तै, मन्त्री साहले आर्थिक समस्याका कारण बीमा कम्पनीहरु बन्द भइरहेको अवस्थामा आफूले नेतृत्व सम्हालेपछि बीमा क्षेत्रका लागि अनुदान स्वरुप ४८ करोड रुपैयाँ पास गरेको उल्लेख गर्नुहुँदै छिट्टै थप प्रक्रिया अगाडि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बीमा कम्पनी बन्द हुने अवस्थामा पुगेको सम्बन्धमा बीमा कम्पनीहरुलाई सरकारले राहत दिनुपर्छ भनेर लागेको छु । प्रधानमन्त्रीसँग छलफलपछि ४८ करोड रुपैयाँ अनुदान पास भएको छ । अब प्रक्रिया अगाडि बढ्छ ।’

साहले आफू आम कृषकको मन्त्री भएको उल्लेख गर्दै कृषि क्षेत्रका समस्या समाधन गर्न नतिजामुखी काम गर्ने बताउनुभयो । कृषि क्षेत्रलाई माथि उठ्न नदिन बिचौलियाहरु सक्रिय रहेको सुनाउनुभएकी साहले बिचौलियाहरुलाई एक जना मन्त्रीले चाहेर पनि नियन्त्रण गर्न सम्भव नभएको धारणा राख्नुभयो । तर, उहाँले कृषि क्षेत्रका बिचौलियालाई निर्मुल पार्न सबै क्षेत्रको साथ र सहयोगको आवश्यकता औंल्याउँदै साथ सहयोग रहे आफ्नो कार्यकालमा कृषि क्षेत्रलाई बिचौलियाको कब्जाबाट निकालेर देखाउने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रलाई माथि उठ्न नदिन बिचौलियाहरु सक्रिय छन् । यो एकजना मन्त्रीले चाहेर नियन्त्रण गर्न असम्भव जस्तै छ । यसका लागि हरेक राजनीतिक दलदेखि मिडियाको सहयोग चाहिन्छ । एक–दुई महिनाभित्रै बिचौलिया अन्त्य गर्नका लागि काम गर्छौ । वास्तविक कृषक र व्यापारिका लागि लाइसेन्सको व्यवस्था गर्नुपर्छ । मेरो कार्यकालमा कृषि क्षेत्र बिचौलियाको कब्जाबाट निकाल्छु ।’

कृषि मन्त्रालय अन्तर्गतका कार्यालहरुमा कर्मचारी समायोजन भद्रगोल छ, तपाईको कार्यकालमा यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘कृषि मन्त्रालय अन्तर्गत रहेका निकायहरुमा कर्मचारी समायोजन सबभन्दा जटिल विषय हो । यसलाई एउटा नीतिमा ढाल्नुपर्छ । स्थानीय, प्रदेश र संघ तीन तहको सरकार भएपछि अर्थात् देश संघीयतामा प्रवेश गरेपछि यस्तो समस्या आएको हो । कुन तहका कर्मचारीले कुन घेराभित्र बसेर काम गर्ने भन्नेबारे स्पष्ट नीति बनाउनु अहिलेको आवश्यकता हो ।’

देशका सबै नागरिक कृषिको बलमा बाँचेको यथार्थलाई नकार्न नमिल्ने बताउनुभएको मन्त्री साहले नागरिक अधिकारको प्रत्याभुत हुनेगरी आफूले नेतृत्व सम्हालेर आम किसानका लागि निर्णय लिने जिकिर गर्नुभयो ।

‘देशको एक महत्वपूर्ण मन्त्रालयको रुपमा कृषि मन्त्रालय पर्छ । हामीले मन्त्रालयलाई व्यवस्थापन गर्न सकेनौं भने आम कृषक, उद्योग व्यवसायीहरु लगायतको जीविकोपार्जनमा समस्या आउँछ । हामी कृषकको बलमा बाँचेका छौं भन्ने विर्सने कुरै भएन ।’ साहले भन्नुभयो ।