
काठमाडौं, ३ चैत । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) विभाजन भएको छ । पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादवको समूह नेकपा (माओवादी केन्द्र)मा समाहित भएको हो ।
आज शनिबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा यादव समूह माओवादीमा समाहित भएको हो ।
बैठकले पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरेको छ ।
बैठकले पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा माओवादी केन्द्रको तर्फबाट महासचिव देवप्रसाद गुरूङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहनुभएको छ ।

बैठकमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरूङ, नेसपाको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी हुनुहुन्थ्यो ।
यता नेसपाका अर्का अध्यक्ष भट्टराई भने पार्टी एकताको पक्षमा हुनुहुन्न । भट्टराई नेतृत्वको नेसपाले भोलि चैत ४ गते केन्द्रीय कार्यकारिणी समिति र ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकले पार्टीको आगामी संगठनात्मक नीति तथा कार्यक्रम तय गर्ने बताइएको छ ।








प्रतिक्रिया