२२ जेष्ठ २०८३, शुक्रबार

बुढासुब्बा गोल्डकप : उपाधिका लागि एनआरटी र एन्फा मोरङ भिड्दै

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, ३ चैत । सुनसरीको धरानमा जारी २४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र एन्फा मोरङबीच प्रतिस्पर्धा हुँदैछ ।

धरान रंगशालामा हुने फाइनल खेलमा यी दुवै टिम उपाधि हात पार्ने योजनाका साथ मैदान प्रवेश गर्नेछन् ।

न्युरोड टिम (एनआरटी) काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै फाइनल पुगेको हो । अन्तिम सेमिफाइनलमा काँकडभिट्टालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै एनआरटीले फाइनलमा मोरङसँग फाइनलमा भेट पक्का गरेको हो ।

एन्फा मोरङ आयोजक धरान फुटबल क्लबलाई हराउँदै फाइनल आइपुगेको हो । मोरङले पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले धरानलाई हराएको थियो ।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछ । यस्तै, उपविजेता टिमले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

यसैगरी, उत्कृष्ट गोलरक्षकलाई २५ हजार, उत्कृष्ट डिफेन्सलाई २५ हजार, उत्कृष्ट मिड फिल्डरलाई २५ हजार, उत्कृष्ट स्ट्राइकरलाई २५ हजार, उत्कृष्ट प्रशिक्षकलाई २५ हजार, सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

फागुन २६ गते सुरु भएको प्रतियोगितामा चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ, भारतीय क्लब युके एफसीले सहभागिता जनाएका थिए ।