१९ असार २०८३, शुक्रबार

एमालेलाई नटेर्नेहरू समाप्त हुन्छन् : केपी शर्मा ओली

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने बताउनुभएको छ ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं ६ मा आज आयोजित भवन उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलाई नटेर्ने शक्ति सिद्धिने बताउनुभएको हो । ‘एमाले एउटा यस्तो शक्ति हो, जसलाई पुरै आँखा चिम्लेर नकार्छु, टेर्दिनँ भन्नेहरू सिद्धिन्छन,’ अध्यक्ष ओलीले भन्नुभयो । एमालेलाई हेप्नेहरूले गम्भीर धोका खानेसमेत उहाँले बताउनुभयो ।

कांग्रेसले आफूसँग दुई तिहाई छ जस्तो गरेकाले सरकारबाटै हट्नु परेको अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो । ‘कांग्रेसले आफूसँग दुई तिहाई छजस्तो गरेकाले सरकारबाटै हट्नु परेको हो । उसले एमाले जस्तो पार्टीलाई टेरेन । आज परिणाम भोग्यो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले मुलुक र जनताको सवालमा सवै दल एक ठाउँमा उभिनुपर्ने आजको आवश्यकता रहेको औंल्याउनु भयो । ‘हामी लोकतान्त्रिक प्रणालीमा छौं । बहुदलीय व्यवस्थामा छौं । दलहरू फरक–फरक हुन्छन । विचार फरक–फरक होला । तर, संविधानको रक्षा, देशको एकता, मुलुकको सार्वभौम सत्ता र भूमिको रक्षाका लागि सरकार अगाडि बढ्नुपर्छ, यस्तो काम गर्ने सरकारलाई जनताले साथ दिनुपर्छ,’ उहाँलेले भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामिलामा सबै दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । ’सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टहरूलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ,’ ओलीले भन्नुभयो ।

दोधारा चाँदनी वडा नं ६ का वडाअध्यक्ष ओमकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष ओलीले वडा कार्यालयको नवनिर्मित भवनको उदघाटनसमेत गर्नुभयो । सो क्रममा अध्यक्ष ओलीले प्रसंसनीय काम गरेको भन्दै वडाध्यक्ष बस्नेतलाई र नगरपालिकाका प्रमुखलाई धन्यवादसमेत दिनुभयो ।