१४ असार २०८३, आइतबार

एमाले लुम्बिनीले ८६ हजार पार्टी सदस्यको एकैपटक परीक्षा लिने

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही, १ चैत। नेकपा (एमाले) लुम्बिनीले प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना सदस्यको एकैपटक परीक्षा लिने भएको छ ।

पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यसप्रकारको नयाँ कार्यक्रम थालिएको एमालेको भनाइ छ । यहीँ चैत ५ गते हुने परीक्षामा सदस्यको क्षमता अनुसारको प्रश्न तयारी गरिएको छ ।

निष्कृय सदस्यलाई कृयाशील र जवाफदेही बनाउन यो कार्यक्रम थालिएको भएपनि पहिलोपटक अनुत्तीर्णलाई पुन: अवसर दिइने र पटकपटक असफल भए पार्टीबाट बिदा गरिने रणनीति बनाइएको एमाले सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी दिनुभयो । प्रदेश कमिटीले प्रदेशभित्र रहेका १२ वटै जिल्लाका पार्टी सदस्यहरूको चैत ५ गते वडा कमिटीमा परीक्षा लिइने छ। यसमा प्रदेशभरका ८६ हजार २ सय ६० जना नेतारकार्यकर्ताहरू सहभागी हुनुहुनेछ ।

अर्यालले परीक्षाको नतिजाबाट पार्टीका कार्यकर्ताहरूको स्तर निर्धारण हुने र त्यसैअनुसार पार्टीभित्र जिम्मेवारी दिइने नीति बनाइएको जानकारी दिनुभयो । ‘परीक्षाले कसलाई कुन लेभलको जिम्मेवारी दिने भन्ने जानकारी हुनेछ, लुम्बिनी प्रदेशबाट एउटा नौलो अभ्यास गर्दैछौं’ उहाँले भन्नुभयो ।

उहाँले पार्टीलाई सांगठिनकरूपमा बलियो बनाउनका लागि बेलाबेला सदस्यहरूको परीक्षा लिने कामले हरेक पक्षमा सुधार हुने र परीक्षामा कमजोर हुने पार्टी सदस्यहरूलाई स्कुल विभागको माध्यमबाट प्रशिक्षणको व्यवस्था मिलाउने बताउनुभयो । जिल्ला कमिटीको संयोजनमा लुम्बिनी प्रदेश कमिटीले सञ्चालन गर्ने परीक्षाको केन्द्र वडा कमिटीका कार्यालयहरूलाई तोकिएको छ।

प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले सबै वडा तहमा यसको तयारी भएको र त्यसले पार्टीलाई नै उर्जा थप्ने विश्वास लिएको बताउनुभयो । प्रचार विभाग प्रमुख डिआर घिमिरेका अनुसार अहिले १२ मध्ये १ जिल्लामा मात्रै अधिवेशन सकिएको र वडागत परीक्षा सकिएपछि सबै जिल्लामा अधिवेशनको तयारी हुने जनाए ।