
काठमाडौं, १ चैत । नवनियुक्त गृहसचिव एकनारायण अर्यालले गृह मन्त्रालय र गृह प्रशासन कमजोर भयो भने मुलुकको समग्र शासन कमजोर हुने बताउनुभएको छ । पदवहालीसँगै मन्त्रालय अन्तर्गतका कर्मचारीहरुलाई बुधबार निर्देशन दिँदै गृह सचिव अर्यालले गभर्नेन्सलाई ड्राइभ गर्ने प्रमुख निकाय नै गृह प्रशासन भएको बताउनुभयो ।
गृहसचिव अर्यालले माथि दलालहरुमा आफू अनुकूलको नीति बनाउन र त्यो लागू गराउन खोज्ने प्रवृत्ति रहेको, अनि तल बिचौलियाले काम गराइदिन्छु भनेर पैसा लिएर कर्मचारीलाई प्रभावमा पार्ने प्रवृत्ति रहेको भन्दै यसलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।
गभर्नेन्सलाई ड्राइभ गर्ने प्रमुख निकाय गृह प्रशासन भएको बताउँदै सचिव अर्यालले गृह मन्त्रालय र गृह प्रशासन कमजोर भयो भने मुलुकको समग्र शासन व्यवस्था नै कमजोर हुने बताउनुभयो ।
‘कसैले काम गर्न सकेन भने गृह मन्त्रालय छ भन्ने गरिन्छ,’ गृह सचिव अर्यालले भन्नुभयो, ‘र नतोकिएको काम गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीले गर्नुपर्ने हुन्छ ।’ गृह प्रशासनमा धेरै चुनौती रहेको तर सामुहिक प्रयासबाट त्यो सामना गर्न अहिलेको टिम सक्षम भएको उनको उहाँको भनाइ थियो ।
सार्क सम्मेलन, संविधान घोषणा, भूकम्प, नाकाबन्दीलगायत विषम परिस्थितिको अनुभवले पनि अहिले काम गर्न सकिने र नागरिकले महसुस हुने गरी सरकारको उपस्थिति देखाउन काममा लाग्नुपर्ने सचिव अर्यालले बताउनुभयो ।
उहाँले गृह अन्तर्गतका कुनै पनि अधिकारीलाई कुनै पनि समस्याबाट पन्छिने छुट नभएको बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धानलगायत विभिन्न निकायहरु रहेको बताउँदै गाउँ गाउँसम्म रहेको उपस्थितीलाई गर्विलो बताउनु पर्ने सचिव अर्यालको भनाई छ । ‘गाउँगाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति छ’ उहाँले भन्नुभयो ‘यसको अर्थ सरकारको उपस्थिति त्यहाँ छ । यो उपस्थितिलाई प्रभावकारी ढंगको बनाउनुपर्ने छ ।’
शान्ति सुरक्षा कायम गर्नुपर्ने, अपराध नियन्त्रण, लागू औषध नियन्त्र, सीमा सुरक्षालगायतमा काम गर्नुपर्ने बताउँदै सीमामा हुने विकृति विसंगतीहरु रोक्न नयाँ रणनीति बनाएर अघि बढ्ने बताउनुभयो । सरकारका सुरक्षा निकायबिच समन्वय नहुँदा रेभिन्यु घटेको भन्दै हिजो किन रेभिन्यु बढी हुने आज कम हुने ? उहाँको प्रश्न छ ‘यो रसिया र युक्रेनको युद्धका कारण कम भएको होइन नि !’
आफ्नो संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गर्न नसक्दा र अविश्वासको वातावरणका कारण प्रभावकारी नतिजा हासिल हुन नसकेको भन्दै गृह सचिव अर्यालले निकाय र व्यक्तिमाथि अविश्वासको वातावरण हुँदा यसको प्रभाव अर्थतन्त्र र सुरक्षामा पनि देखिएको र त्यो चुनौतीलाई फेस गर्न आजकै दिनदेखि जुट्नुपर्ने सचिव अर्यालको भनाई छ ।
गृह सचिव अर्यालले स्रोतसाधनहरुको अभाव रहेको भन्दै त्यसको परिपूर्तिका लागि आफूले आफ्नो भूमिका निर्वाह गर्ने प्रतिवद्धतासमेत जनाउनुभएको छ । ‘प्रहरी र सशस्त्र प्रहरीलाई बस्ने ठाउँ छैन । प्रहरीहरु दुःखका साथ बसिरहेका छन्’ सचिव अर्यालले भन्नुभयो ‘ट्राफिक प्रहरीहरु मोटिभेट भएर ड्युटी गर्न सकिरहेका छैन । उनीहरुलाई हामीले मोटिभेट गर्न सकिरहेका छैनौँ । क्षमता विकास गर्न सकिरहेका छैनौँ ।’
सुरक्षा निकायमा लगानी गर्नुुपर्नेबारे उपप्रधान एवं गृहमन्त्रीसँग आफूले कुरा राखिसकेको बताउँदै गृह सचिव अर्यालले रेभिन्यू उठाउनेतर्फ पनि गृह प्रशासन सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो । ‘सुरक्षा निकायमा लगानी गर्नु पर्छ, त्यसको लागि रेभिन्यु उठाउने, रिसोर्स बढाउने काम हाम्रो भयो’ सचिव अर्यालले भन्नुभयो ‘त्यो बमोजिमको सुरक्षा निकायमा लगानी गर्ने कुरा पोल्टिकल लेभलमा हजुरले गर्नु पर्यो भनेको छु ।’ डे टु डे रेभिन्यु बढेको आधारमा कर्मचारीलाई मोटिभेट गर्नुपर्ने धारणा राख्दै सचिव अर्यालले सेक्युरिटी एजेन्सीलाई मोटिभेट गर्ने गरी योजनाहरु ल्याउनु पर्ने बताउनुभयो ।
गृह प्रशासन कमजोर हुने छुट छैन
गृह मन्त्रालयसँग गभर्नेन्सको पक्ष पनि जोडिएकोले मातहतका निकायमा कार्यरत कुनै पनि कर्मचारीलाई कमजोर हुने छुट नभएको उहाँले बताउनुभएको छ । पछिल्लो समय सरकार कमजोर भएको जस्तो देखिएको बताउँदै हामी कमजोर छैनौँ भन्ने कुरा गृह मन्त्रालयमार्फत नेपाल सरकारलाई आस्वस्त पार्ने दायित्व गृह प्रशासनको रहेको पनि गृह सचिव अर्यालले बताउनुभयो । ‘माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूको लिडरसिपमा हामीले त्यो पूरा गर्नुपर्ने हुन्छ,’ सचिव अर्यालले भन्नुभयो ।
गृह सचिव अर्यालले अध्यागमनमा केही समस्याहरु रहेको बताउँदै ती समस्याहरुको तत्काल समाधानका लागि उपाय चालिने उहाँको भनाई छ । ‘श्रम मन्त्रालयमा काम गरेको हुनाले त्यो मलाई थाहा छ, अब त्यस्ता घटना दोहोरिन दिनु हुँदैन,’ उहाँले भन्नुभयो ।
आन्तरिक झगडा तथा समन्वय नहुने विषय सर्वसाधारणसँग मतलव नहुने भएकोले कुनै पनि बहानामा आम नगरिकले पाउने सेवा प्रभावित हुन नहुनेतर्फ सजग हुनुपर्ने सचिव अर्यालले बताउनुभयो । ‘हिजो के भयो त्यसलाई बिर्सनुस्’ उहाँले सुरक्षा प्रमुखसमेतको उपस्थितिमा कर्मचारीहरुलाई भन्नुभयो ‘गृह प्रशासन कामजोर भएकै हो । त्यसमा नअल्झिनूस् । अब त्यस्तो हुँदैन र हुन दिने छैन भन्नेमा कोर्डिनेशन गर्नूस् ।’
बलियो बनाउने र कमजोर बनाउने पनि हामी नै भएको भन्दै उनले गृहमन्त्री पारदर्शी रुपमा काम गरौँ भन्नेमा भएकोले पनि त्यो आफ्ना लागि मौका भएको बताउनुभयो । ‘गृह मन्त्रालय गृह मन्त्रालय जस्तो छैन, सिडिओ कार्यालय सिडिओ कार्यालय जस्तो छैन, के भएको हो ? किन कमजोर भएको हो भन्ने प्रश्न उठ्ने गरेको भन्दै सचिव अर्यालले अब त्यो सुन्न पर्ने अवस्था आउन नदिई सरकारको लक्ष्य पाप्तिमा दत्तचित्त भएर लाग्न निर्देशन दिनुभयो ।
शान्ति सुरक्षा कायम गर्ने कुरामा सबै सुरक्षा संयन्त्रहरुले समन्वय गर्नुपर्ने बताउँदै सचिव अर्यालले मातहतका सबै निकायको एउटै आवाज हुनुपर्ने पनि बताउनुभयो । ‘सशस्त्र प्रहरी बलले यसो गरेछ भनेर नेपाल प्रहरीले कमेन्ट गर्ने, नेपाल प्रहरी यसो गरेछ भनेर सिडिओले कमेन्ट गर्ने काम अब हुनु हुँदैन’ गृह सचिव अर्यालले भन्नुभयो ‘नो यो हुन हुँदैन । कमजोरी छ भने हामीले सुधार गर्ने हो,’ उहाँले भन्नुभयो ।
गृह मन्त्रालयमा जागिर खान्छु भन्दा आम हेराईमा नै फरक हुने गरेकोमा पछिल्लो समय गृह मन्त्रालय कमजोर बनेको उहाँको भनाई छ । ‘हिजोको दिनमा गृह मन्त्रालयमा कस्तो घटना घटेको छ । हामी कल्पना पनि गर्न सक्दैनौँ । किन त्यस्तो भयो ? त्यही भएर हामी प्रोफेस्नल व्युरोक्रसीको कल्पना गर्छौ भने मान्छे पनि प्रोफेस्नल हुुनुपर्छ ।’ उहाँले भन्नुभयो ।
सिडीओले पन्छिने होइन, समाधान गर्ने हो
कर्मचारी २४ सैँ घण्टा नेपाल सरकारको हुने भन्दै गृह सचिव अर्यालले गृहमा काम गर्ने कर्मचारीले १०–५ को जागिर भन्न नपाइने बताउनुभयो । ‘हाम्रा सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीले दिनरात काम गरिरहेका हुन्छन्,’ गृह सचिव अर्यालले भन्नुभयो, ‘यो संगठनको प्रकृति नै त्यो खालको छ । यसलाई बुझ्न नसक्ने यहाँ एडेजस्ट हुन सक्दैन ।’
‘प्रमुख जिल्ला अधिकारीले समस्या ट्रान्सफर गर्न पाइँदैन, सल्भ गर्ने हो,’ उहाँले भन्नुभयो ‘प्रमुख जिल्ला अधिकारीले आफ्नो ल्याकतले भ्याएसम्म समस्याको समाधान गर्ने हो । समन्वय गर्नुपर्ने काममा त हामी समन्वय गरी हाल्छौँ नि ।’
प्रमुख जिल्ला अधिकारी (सडिओ) सामू चुनौतीका रुपमा सहकारी, लघुवित्त, मिटरब्यासँग जोडिएका विषय र शान्ति सुरक्षामा खलल पार्ने सक्ने विभिन्न विषयहरु रहेको भन्दै ती समस्याहरुको सधाधानका लागि प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशन अनुशार समाधानका लागि लागि पर्ने बताउनुभयो ।
स्रोत बिना कार्य योजना कार्यान्वयन गर्न कठिन हुने भएकोले त्यसका लागि अर्थ मन्त्रालयसँग समन्वय गरिने सचिवले बताउनुभयो । ‘रिसोर्स बिना रिफर्म हुँदैन । अर्थ मन्त्रालयसँग समन्वय गर्ने छौँ ।’ विकास प्रशासनलाई पनि गृह प्रशासनले ड्राइभ गर्ने हो भन्दै विकास प्रशासन र गृह प्रशासन ज्वइन्ट भयो भने मात्र नतिजा निस्कने सचिव अर्यालको भनाई थियो । ‘विकास एकातर्फ जाने, त्यहाँ समस्या पर्ने वित्तिकै प्रहरी चाहियो भनेर हुँदैन’ उहाँले भन्नुभयो ‘कुनै ठाउँमा घटना घट्यो भने त्याहाँ तत्काल पुग्ने व्यवस्था पनि गरिएको छैन भने नतिजा दिन गारो हुन्छ, त्यसको व्यवस्थापन गरिनेछ ।’
जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिका महत्वपूर्ण रहने भन्दै त्यो भूमिका निर्वाह गर्र्न सिडिओ तयार हुनुपर्ने उहाँले बताउनुभयो । ‘गाउँको मान्छे अरुलाई चिन्दैन तर, सिडिओलाई चिन्दछन् । सिडिओ आयो भने पछि ढोका खोलेर हेर्ने धेरै मान्छेहरु छन्,’ उहाँले भन्नुभयो ‘नागरिकको त्यो अपेक्षा प्रजिअले पूरा गर्नुपर्छ ।’
सचिव अर्यालले आफ्नै संस्थाको आलोचना गर्दै हिड्ने छुट कसैलाई नभएको भन्दै सबै अधिकारीहरुले अनुशासनभित्र रहेर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।
दबाबमा कुनै काम हुँदैन
गृह प्रशासनमा मौलाउँदो बाह्य दबाब हट्ने संकेत सचिव अर्यालको छ । ‘प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू, मुख्यसचिवज्यूसँग डे वानदेखि सुरु गर्नु भनेको छु ।’ उहाँले भन्नुभयो ‘त्यो खालको वातावरण हुनुपर्छ ।’
सम्बन्धित निकायसँग समन्वय गर्ने ल्याकत आफूसँग रहेको बताउँदै सचिव अर्यालले कुनैपनि बहानामा अल्झाउने कार्य कसैबाट नगर्नसमेत सजग गराउनुभएको छ । साथै आफूले दबाबमा काम नगर्ने भन्दै उहाँले भन्नुभयो ‘मलाई प्रेसर दिएर कसैले काम सम्पन्न गराउँछु भन्ने ठान्छ भने त्यो नगर्दा पनि हुन्छ ।’
पछिल्लो समय प्रहरीतर्फ सरुवा, बढुुवा, काजलगायतमा चल्ने गरेको सोर्सफोर्स र हस्तक्षेप बन्द गर्ने संकेत दिएका अर्यालले नेपाल प्रहरी र शसस्त्र प्रहरीका आइजीपीहरुलाई आफ्नो जिम्मेवारीको काम गर्न स्वतन्त्र भएको र त्यसमा कुनै खाले दबाब नहुनेसमेत बताउनुभयो । ‘मेरो तर्फबाट सरुवा बढुवामा प्रेसर हुँदैन । संस्थाको प्रमुखले गरेको निर्णय कार्यान्वयन हुन्छ ।’ सचिव अर्यालले भन्नुभयो ।








प्रतिक्रिया