
काठमाडौं, ३० फागुन । नेकपा (एमाले) का सांसद तथा सचिव योगेश भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म वर्तमान सरकार कायम रहने बताउनुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कायम रहने बताउनुभएको हो ।
अहिलेको संसदको लागि यो सरकार बनाउनु अन्तिम विकल्प भएको उहाँको दाबी छ। अब अर्को सरकार बनाउन एमालेले कोसिस नगर्ने उहाँले स्पष्ट पार्नुभयो । एमालेको समर्थनमा आज १५७ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मतमा मत दिनुभएको छ ।
सरकारले मुलुकमा व्याप्त समस्याको सकारात्मक निकास दिने उहाँले विश्वास व्यक्त गरे। सरकारले जनतामा भएको निराशालाई आशामा बदल्ने उहाँको भनाइ छ।
‘अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित गर्ने। अर्थतन्त्रलाई सन्तुलित बनाउने। र, अन्य कतिपय सामाजिक, आर्थिक समस्यालाई हल गर्ने र संसद्बाट आवश्यक विधेयक संसद्मा टेबुल गर्ने, त्यसलाई पास गर्ने र विशेष गरी संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन लगायतका संघीयताका कार्यान्वयनसँग सम्बन्धित ऐनहरूलाई छिटोभन्दा छिटो संसद्बाट अगाडी बढाउने हो। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षबाट टुंग्याउने,’ उहाँले भन्नुभयो।








प्रतिक्रिया