२१ असार २०८३, आइतबार

सुरु भयो प्रचण्डको अर्को उथलपुथल यात्रा

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको यही कार्यकालभित्रै तेस्रो पटक विश्वासको मत पाउनुभएको छ । निर्वाचनपछि सबैभन्दा पहिले एमालेसँग त्यसपछि लगत्तैनेपाली कांग्रेससँग र हालै फेरि एमालेसँग सत्ता गठबन्धन गर्नुभएका दाहालले छोटो अवधिमा तीन पटक विश्वासको मत लिएर नयाँ रेकर्ड बनाउनुभएको छ ।

विश्वासको मत याचना गर्दै प्रधानमन्त्री दाहालले सत्ताको मुख्य घटक नेपाली कांग्रेसको महासमितिमा राजनीति, धर्म र भावी निर्वाचन सन्दर्भमा भएका छलफललाई गठबन्धन परिवर्तन गर्नुपर्नाको मुख्य कारण बताउँदै आफूलाई निर्दोष देखाउने प्रयास गर्नुभयो । निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने नेपाली कांग्रेसको निर्णयबाट बढी नै विचलित देखिनुभएका दाहालले कांग्रेसलाई आफूले नै संसदको पहिलो दल बनाउन योगदान गरेको दावी पनि गर्न छोड्नुभएन । यो दावी गर्दै उहाँले आगामी निर्वाचनमा बहुमत ल्याउन नेपाली कांग्रेसलाई व्यंगात्मक शैलीमा चुनौती पनि दिनुभयो । आफूलाई राजनीतिको खलनायक जस्तो देखाउने नेपाली कांग्रेसको प्रयास भएको भन्दै प्रधानमन्त्री दाहालले गठबन्धन परिवर्तन गरेर धोका दिएको भनी आरोप लाउने अधिकार एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मात्र रहेको तर्क गर्नुभयो ।

नयाँ गठबन्धनका भाष्यकार एमाले अध्यक्ष ओलीले पनि प्रधानमन्त्री दाहालको प्रशंषा गर्नुभएको छ । उहाँले नेपाली कांग्रेसलाई ‘इमानको कुरा नगर्न’ सुझाव दिनुभएको छ । विगतका आफ्ना तिक्ततापूर्ण अभिव्यक्तिहरु झुटा देखाउने गरी ओली र दाहालले ‘नयाँ गठबन्धन हामी दुइभाईले सल्लाह गरेर बनाएका हौं’ भन्नुभएको छ । ओली र दाहालले पार्टी एकता गर्दा ‘हामी पुल काटेर आएका छौं, अब फर्किने ठाउँ छैन भन्नुभएको थियो । त्यसको छोटो अवधिमै उनीहरु पुरानै अवस्थामा पुग्ने गरी छुट्निुभएको थियो । त्यसपछि दुवै नेताहरुले परस्पर हिलो छ्याप्न शब्दकोषमा उपलव्ध सबै चर्का शब्दहरुको उपयोग गर्नुभएको थियो । नयाँ गठबन्धनमा सामेल हुनासाथै विगतलाई झुटा सावित गर्ने प्रयाश दुवैजनाका तर्फबाट जारी छ ।

आज विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले निशंकोच एकअर्काको प्रशंसा गर्नुभएको छ । यो गठबन्धन बने लगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले राजनीतिक धोकाधडी गरेको भनेर चर्को आलोचना गरेका गर्नुभएको थियो । उहाँले उदाहरणहरु प्रस्तुत गर्दै ‘धोका पाएकाहरु एक ठाउँ जम्मा भएका दिन तपाईं के गर्नुहुन्छ’ भनेर प्रधानमन्त्री दाहालसँग प्रश्न गर्नुभएको थियो । निवर्तमान सरकारका तर्फबाट प्रस्तुत पूर्व बजेटमाथि छलफल चलिरहेकै बेला अकस्मात गठबन्धन भत्किएपछि नयाँ गठबन्धन बनेको हो । बहालवाला प्रधानमन्त्री नै नयाँ गठबन्धनमा पनि सरकारको नेतृत्वमा निरन्तर रहने गरी भएको यो गठबन्धनले वामपन्थी दलहरु र भर्खरै संसदीय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेटेर सरकार सञ्चालन गर्ने देखिएको छ ।

भावी प्रधानमन्त्रीको उधारो आश्वासन
एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अन्कनाउँदै यो गठबन्धनमा सहभागी हुनुभएको छ ।संसदको यही कार्यकालभित्र आफू पनि प्रधानमन्त्री हुन पाउनुपर्ने माग राखेर केहीदिन अडिएका नेपाललाई ओली र दाहालले सँगै राखेर मौखिक आश्वासन दिएपछि उहाँ राजी हुनुभएको भन्ने कुरा पनि स्पष्ट हुँदै गएको छ । भावी प्रधानमन्त्रीको मौखिक आश्वासन पाएपनि नेपालले त्यसको लिखित प्रत्याभूति भने पाउन सक्नुभएको छैन । यो उधारो आश्वासन विश्वासको मत पाउञ्जेल मात्रै हो कि पछिसम्म कायमै रहने छ भन्नेमा स्वयं नेपालले विश्वस्त हुने आधार पाईरहनु भएको छैन ।

उथलपुथल गर्दै बाजी मार्दै प्रचण्ड
गएको संसदीय निर्वाचन पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीव्र गतिमा छलाङ्ग मार्दै राजनीतिक लाभ हासिल गरिरहनुभएको छ । ‘देश र जनताको हितमा समृद्विको कार्य गर्न’ गठबन्धन परिवर्तन गर्नुपरेको तर्क दिँदै दाहालले सहयात्री मुख्य दलहरुलाई उच्च महत्वका संवैधानिक पदहरु दिलाउन सहयोग नगर्नुभएको पनि होइन । पहिलो गठबन्धन गरेर एमालेलाई सभामुख पद पाउन मद्दत गर्नुभएका उहाँले राष्ट्रपति पदमा नेपाली कांग्रेसलाई सहयोग गर्नुभएकै हो । सभामुखमा एमालेका नेता देवराज घिमिरे र राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल चुन्न दाहालले पुर्‍याएको योगदानलाई दुवै ठूला पार्टीले बिर्सन मिल्दैन ।

यसको बदलामा भविष्य अनिश्चित रहेको प्रधानमन्त्री पद र राष्ट्रिय सभाको अध्यक्ष पद दाहालको पार्टीको भागमा परेको छ । यसरी हेर्दा सत्ता परिवर्तनमा गहिरो रुचि भएका जस्ता देखिएका दाहालले शक्तिका सबै केन्द्रहरु आफैंसँग मात्र राखौं भनेर लालच गरेको जस्तो पनि देखिँदैन ।
एउटा प्रश्न भने अवश्य पनि उठ्ने गरेको छ कि माओवादी अध्यक्ष दाहाल किन गठबन्धन फेरिरहन रुचाउनुहुन्छ । के दाहालले भनेजस्तै

आफ्नो जीवनकालभरी नै उथलपुथल मच्चाईरहनु उहाँको नियति हो त ?
पार्टीभित्रको विरोध र असमतिको आवाजलाई थिचेर दाहालले आफ्नै वन्धु नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाएरै छाड्नुभयो । सत्ता गठबन्धनको नयाँ छलाङ्ग मार्दा प्रधानमन्त्री दाहालले यो शर्तमा एमालेसहितका दलहरुलाई सहमत गराउनुभएको थियो । राजनीतिको सार्वजनिक जीवनमा प्रकट भैसकेपछि दाहालले केही उल्लेखनीय उथलपुथल त मच्चाईसक्नु भएकै हो । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पहिलो राष्ट्रपति बन्न नदिएर उहाँले राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाउनु भएकै हो । यो कुरा उहाँ स्वयंले सार्वजनिक रुपमै पटक पटक चर्चा गर्नुभएको छ ।

प्रधानसेनापति हटाउने असफल प्रयासलाई चानचुने उथलपुथल मान्न सकिँदैन । त्यसपछि मित्र राष्ट्रहरु विरूद्व आएका उहाँका चर्का अभिव्यक्तिले पनि राजनीतिमा तरंग उत्पन्न गर्नुभएकै हो । प्रधानसेनापति हटाउन असफल भए लगत्तै जातीय राज्यको घोषणा गर्दै देश दौडाहा गरेर दाहालले राजनीतिमा आफ्नो उपस्थिति प्रभावकारी बनाउने प्रयास गर्नुभएकै हो । यसअघिको सरकारको नेतृत्व गर्दा दाहालले भ्रष्टाचार र अनियमितताका केही उल्लेख्य घटनाहरुको अनुसन्धान गराएर राजनीतिक तरंग उत्पन्न गर्नुभएको थियो । तर ती बिषयहरुको छिनोफानो भने हुन बाँकी नै छ ।

अहिले तेस्रो पटक विश्वासको मत पाएका छन्, प्रधानमन्त्री दाहालले यसलाई कति लामो दूरीको यात्रा गराउन सक्लान्, यो भने भावी दिनहरुमा प्रष्ट हुँदै जाने छ ।