२६ जेष्ठ २०८३, मंगलबार

सिदिङ्वा गाउँपालिकाको टोली काठमाडौंमा, न्यायिक समितिको अनुभव आदान–प्रदान

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । न्यायिक समितिको कामबारे सिकाई आदान–प्रदान गर्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका न्यायिक समितिका पदाधिकारी काठमाडौं महानगरपालिकामा आइपुगेका छन् । दुई स्थानीय तहमा रहेका न्यायिक समितिका पदाधिकारीले न्यायिक कार्य गर्दा बटुलेका अनुभव आदान प्रदान गरेका छन् ।

भेटमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले स्थानीय विवाद निरुपणका लागि न्यायिक समितिसँगै मेलमिलापकर्ताको संयुक्त प्रयास आवश्यक हुने बताउनुभएको छ ।

‘भूगोल, सामाजिक तथा सांस्कृतिक अवस्थाअनुसार विवादका प्रकृति फरक हुन सक्छन् । विवादका प्रकृति फरक भए पनि मेलमिलाप गराउने पद्धति साझा हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण पनि हाम्रो एकअर्काको अनुभव अर्काेका लागि उपयोगी हुनसक्छ ।’

सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कँडरियाले आवश्यक ज्ञान, अनुभव र दक्ष कर्मचारीसमेत नहुँदा न्यायिक समितिले चाहेअनुसार काम गर्न नसकेको बताउनुभयो ।

‘हामीले ‘जनतासँग न्यायिक समिति’ कार्यक्रम सञ्चालन गर्न चाहेका छौँ । वडाहरुबाट पालिका पुग्न टाढा भएकोले वडामै विवाद दर्ता गराउन चाहेका छौँ । हाम्रो यो सोचलाई महानगरपालिकाको अभ्यासले ठूलो सहयोग गरेको छ,’ उहाँले भन्नुभयो, ‘हामी लक्ष्यप्रति उत्साहित भयौँ ।’

सिदिङ्वाको ७ सदस्यीय टोली काठमाडौं आएको छ । काठमाडौं महानगरपालिकाले गतवर्ष काठमाडौंमा न्यायिक समितिका पदाधिकारीहरूको राष्ट्रिय सम्मेलन समेत गरेको थियो ।