७ असार २०८३, आइतबार

‘सरकारले न्यायको आशामात्रै दियो, हामीसँग त घर जाने पैसा पनि छैन’ : मिटरब्याजपीडित

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भृकुटीमण्डपमा त्रिपाल टाँगेर बसेका मिटरब्याजपीडित

काठमाडौं, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका–५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक काठमाडौं आइपुग्नुभएको थियो । १८ जना मिटरब्याजपीडित गरिब किसानहरू उहाँको साथ खडा हुनुहुन्थो । त्यसयता उहाँ कहिले माइतीघरको चिसो भुइँमा धर्ना बस्नुभयो, कहिले हजारौँ किलोमिटरसम्म पैदलै हिँडेर न्यायको संघर्ष ।

मिटरब्याजपीडित ६५ वर्षीय रामशुभग मुसहर

यसबीचमा सरकारले पटक–पटक उहाँहरूसँग सहमति गरेको छ, आयोग र छानविन समिति बनाएर काम गरेको छ । तर उहाँहरूका समस्या भने ज्यूँका त्यूँ छन् ।

‘नयाँ गृहमन्त्री यही आएर आश्वासन त दिनुभयो, तर तीन वर्षदेखि न्यायका लागि भौतारिएको सम्झिँदा यसपटक पनि के होला भनेर मनमा डर छ,’ मुसहरले भन्नुभयो, ‘४२ दिनदेखि यत्रो संघर्ष गर्दा पनि सरकारले न्यायको आशामात्रै दियो, अब हामीसँग त न यहाँ बस्दा खानेकुरा छ, न फर्किने पैसा ।’

उहाँले छोरीको विहेका लागि गाउँकै साहुसँग साढे चार लाख रुपैयाँ ऋण लिनुभएको थियो । ऋण लिनेबेला साहुले धितो अनिवार्य भन्दै उहाँको साढे १० कठ्ठा जग्गा आफ्नी श्रीमतीको नाममा पास गर्न लगाए । पैसाले समस्या परेका बेला रामशुभगले पनि जग्गा दिएरै ऋण लिनुभयो । साधारण लेखपढमात्रै जान्ने उहाँले १५ महिनापछि साहुको ऋण ब्याजसहित ९ लाख ४० हजार रुपैयाँ फिर्ता गरिसक्नुभयो ।

‘साढे चार लाख ऋण लिएको, एक वर्ष तीन महिनामा मैले ९ लाख ४० हजार रुपैयाँ तिरेँ,’ उहाँ भन्नुहुन्छ, ‘पैसा बुझ्दा साहुले दुई दिनमा जग्गा फिर्ता गरिदिन्छु भनेका थिए । तर वर्षौ बित्दा पनि जग्गा नदिएपछि म न्याय खोज्दै भौतारिनुपर्ने अवस्थामा पुगेँ ।’

जग्गा फिर्ता गराइदिन बेलिविस्तार लगाउँदै उहाँ मानव अधिकार आयोग पुग्नुभयो, स्थानीय सरकारसमक्ष धाउनुभयो, प्रदेश सरकारसमक्ष पनि पुग्नुभयो । तर कतैबाट न्याय नपाएपछि उहाँले सडक संघर्ष रोज्न बाध्य हुनुभयो । ‘उमेरले आराम गर्ने बेला भएको छ । तर जीवनभरको जायजेथो साहुले हडपिदिएपछि बाध्य भएर यो कष्ट बेहोर्दै छु,’ उहाँले भन्नुभयो ।

सरकारले पटक–पटक सहमति गरेर आन्दोलन टुंग्याएपनि व्यवहारिकरुपमा भने पीडितहरूको पीडालाई कसैले नबुझेको उहाँको गुनासो छ । ‘तीन वर्षदेखि हामी यसैगरी संघर्ष गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘विगतमा पनि गृहमन्त्रीहरूले प्रतिबद्धता जनाए, तर कार्यान्वयन भएन । अहिले नयाँ गृहमन्त्री हुनुहुन्छ, उहाँले समाधान गर्छु भन्नुभएको छ । हामीलाई आशा जागेको छ, तर भर पर्ने अवस्था छैन । किनभने यसैगरी हामीले आन्दोलन थालेको साढे तीन वर्ष भइसकेको छ ।’

रामशुभगजस्तै पटक–पटक आन्दोलनमा काठमाडौं आइपुग्नुभएको छ, प्रतापपुर गाउँपालिका–४ की तिलसरादेवी राजभर । उहाँले विदेश जाने बेला गाउँकै साहु जगदिश बानियाँबाट एक लाख रुपैयाँ लिनुभएको थियो ।

साउदी पुगेर मजदुरी गर्नुभएको उहाँले आठ महिनामै साहुको एक लाख रुपैयाँ फिर्ता गर्नुभयो । तर त्यसपछि पनि साहुले छोडेनन् । ‘मैले १२ वर्षसम्म मजदुरी गरेको पैसा साहुले खाइदिए । एक लाख रुपैयाँ ऋण लिएको १० लाख रुपैयाँ लिएर फिर्ता गरेनन्,’ उहाँले भन्नुभयो । साहुले हडेपेको त्यही पैसा फिर्ता पाउनुपर्ने भन्दै उहाँ तेश्रोपटक काठमाडौं आइपुग्नुभएको हो ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिको संयोजनमा यसपटक भएको आन्दोलनमा पूर्वदेशि पश्चिमसम्मका करिब ४ हजार मजदुर किसान सहभागी भए । अहिले पनि सयौँको संख्यामा पीडितहरू काठमाडौंमै छन् ।

संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले ४२ औँ दिनमा सरकारसँग चार बुँदे सहमति भएपनि कार्यान्वयन हुने वा नहुने भय कायम रहेको बताउनुभयो ।

अवधेश कुशवाहा

‘सरकारसँग सहमति भएको छ । तर हामीले पूर्ण विश्वास गर्ने अवस्था छैन । हामी शंका र आलोचनाको दृष्टिले पनि हेरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण सहमति कार्यान्वयन नभएसम्म घर फर्किने वा यही बसेर दबाब दिइरहने भन्ने टुंगोमा पुगिसकेका छैनौँ ।’

उहाँले आफूहरूसँग घर फर्किनका लागि पैसा समेत नभएको र त्यसबारे समेत सरकारसँग कुरा भइरहेको बताउनुभयो ।