११ असार २०८३, बिहिबार

गठबन्धनमा समस्या थियो, एमालेले पहलकदमी लिएकाले नयाँ सरकार बन्यो : शंकर पोखरेल

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सत्ता सहकार्यलाई पुरै समय लैजान पर्दछ भन्ने मान्यता एमालेको रहेको बताउनुभएको छ ।

स्थानीय तह कर्मचारी संघ नेपालको केन्द्रीय कमिटी दोस्रो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिलेको नयाँ सहकार्य एमालेको प्रयत्नको परिणाम भएको बताउनुभएको हो ।

नागरिकमा छाएको निराशालाई आशामा परिणत गर्न पनि यो गठबन्धनलाई पूरा समय टिकाउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘हामी यो सहकार्यलाई चारै वर्षसम्म पुर्‍याउनु पर्छ भन्ने मान्यता राख्दछौँ’, उहाँले भन्नुभयो । पुरानो सत्ता गठबन्धन भित्र समस्या भएको थाहा पाए पछि एमालेले नयाँ समीकरण बनाउन प्रयत्न गरेको कारण नयाँ सत्ता समीकरण बनेको उहाँले प्रष्ट पार्नुभयो । त्यस कारण यसलाई जोगाउने कर्तव्य आफूहरूको रहेको उहाँको भनाइ छ । विगतको सरकार असफल भएकोले अहिलेको सरकारलाई सफल बनाउनु पर्छ भन्ने कुरामा ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो । त्यसैले चारदलीय सहमतिमा तीनवटै तहका सरकारलाई प्रभावकारी बनाउने कुरा स्पष्ट रूपमा लेखिएको पोखरेलले बताउनुभयो ।

पोखरेलले अहिले जनतामा निराशा फैलाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्ति बढेकोसमेत धारणा व्यक्त गर्नुभयो । ‘देशको स्वाधीनता, सार्वभौमसत्ता राष्ट्रिय हितलाई नै असर पार्ने प्रकारका गतिविधिहरू हुन थालेका छन्’, उहाँले भन्नुभयो । पोखरेलले यस्ता प्रवृत्तिलाई रोक्नु पर्नेमा जोड दिदैँ यस्ता प्रवृत्तिलाई रोकेर जनतामा आशा सञ्चार गर्ने काममा कर्मचारीको पनि त्यतिकै भूमिका हुने प्रष्ट पार्नुभएको छ । अब नागरिक राज्यका विद्रोही नभएर राज्यका सहयोगी र राष्ट्रका निर्माता भएको बताउनुहुँदै उहाँले यो धारणा सबै नागरिकमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । जति राज्यबाट नागरिक टाढिन्छन् त्यति नै विकास र समृद्धि पनि टाढिने पोखरेलको धारणा छ ।

पार्टीका सामु अहिले अवसरवाद र सांगठनिक अराजकताको चुनौती रहेको बताउँदै पोखरेलले विचार र कामको अभावमा अवसरवाद जन्मिने भएकोले नियमित रूपमा वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक रहेको बताउनुभयो ।