२३ जेष्ठ २०८३, शनिबार

‘महिला अधिकार प्राप्तीमा विद्या भण्डारीको योगदान अविस्मरणीय’

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, फागुन २६ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला महिला क्षेत्रका अगुवाहरुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काम सम्झिएका छन् । नेपालमा महिलाले प्राप्त गरेको अधिकारको समग्र पाटो केलाउँदै महिला नेतृहरुले पूर्वराष्ट्रपति भण्डारीले पार्टी नेतृत्वलाई समेत चुनौती दिएर साहसिक कदम चालेको कारण अहिलेको अधिकार प्राप्त भएको निष्कर्ष सुनाए ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको महिला विभागले आयोजना गरेको अन्तरक्रियामा वक्ताहरुले नेपाली महिलाको अधिकार प्राप्तीमा भण्डारीले गरेको योगदान निकै अविष्मरणीय रहेको बताए । कार्यक्रममा आफ्नो धारणा राख्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले भण्डारीकै योगदानका परिणाम स्वरुप महिला अधिकारको सवालमा अहिले नेपाल विश्वमै उदाहरणीय बन्न सकेको बताउनुभयो ।

‘नेपाली महिलाले प्राप्त गरेको अधिकार र उपलब्धीहरु पूर्वराष्ट्रपति विद्या भण्डारीको देन हो । उहाँकै असाधारण मेहनत र संघर्षका कारण धेरै उपलब्धी र परिणामहरु आएका छन्, अधिकार खोज्दै गर्दा यो तथ्यलाई हामीले आत्मसाथ गर्नुपर्छ । अनि थप उपलब्धीका लागि लडाईं लडनुपर्छ,’ आयोगकी अध्यक्ष पराजुलीले भन्नुभयो ।

पराजुलीले पार्टीभित्रबाटै कडा धम्कीको वास्ता नगरी भण्डारीले चालेको कदमका कारण महिलाहरुको उपस्थिति एकदमै राम्रो ढंगले भइरहेको र राजनीतिक क्षेत्रमा मात्रै होइन, हरेक क्षेत्रमा महिलाको उपस्थिति राम्रो हुँदै गएको तथ्यांक पनि राख्नुभयो ।

पूर्वराष्टपति भण्डारी सांसदका रुपमा रहँदा संसदमा महिला प्रतिनिधित्व ३३ प्रतिशत कायम हुनुपर्ने संकल्प प्रस्ताव दर्ता गरी पारित गराउनु भएकोथियो ।

‘विद्या भण्डारीकै त्यो निर्णायक कदमअनुसार संविधानमै व्यवस्था गरिएकोले यो अधिकार प्राप्त भएको हो भन्ने तथ्यलाई हामी सबैले आत्मसाथ गर्नुपर्छ । विद्या भण्डारीको त्यही निर्णायक कदमको परिणाम आज हरेक क्षेत्रमा महिलाको सहभागिता विश्वमै उदारहणीय हुन पुगेको हो । यद्यपी कार्यान्वयनको तहमा अझै पनि थुप्रै काम हुन बाँकी छ,’ पराजुलीले थप्नुभयो ।

कार्यक्रमकी अर्की वक्ता महिला अधिकारकर्मी कमला ओली शिवाकोटीले पनि पूर्वराष्ट्रपति विद्या भण्डारीले महिलाको सवालमा चालेको कदम र हस्तक्षेपकारी भूमिकालाई सदैव मनमा राखेर नेपाली महिला अघि बढनुपर्ने बताउनुभयो ।

विद्या भण्डारी कुन पार्टीको हुनुहुन्थ्यो ? त्यो कुरा छाडौं । उहाँले नेपाली महिलाको अधिकार प्राप्तीका लागि कतिसम्म संघर्ष गर्नुभयो यो उपलब्धी प्राप्तीका लागि कति हदसम्मको साहस देखाउनु भयो भन्ने कुरालाई सबैले आत्मसाथ गर्न जरुरी छ,’ राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सदस्यसमेत रहनुभएकी अभियन्ता शिवाकोटीले भन्नुभयो ।

उहाँले महिलाको ३३ प्रतिशत सुनिश्चितता गर्ने कुरा मात्र नभई राष्ट्रपतिका रुपमा भण्डारीले चाल्नुभएको कदम सदैव स्मरणीय रहेको बताउनुभयो । भण्डारीले नै दुरदराजका महिला सुत्केरी हुन नसकेर ज्यान गुमाउनु परेको तथ्यलाई आत्मसाथ गरी उद्धारको प्रभावकारी व्यवस्था गराउनु भएको शिवाकोटीले बताउनुभयो ।

‘राष्ट्रपतिको भूमिकामा रहँदा पनि विद्या भण्डारीले महिलाको अधिकार दिलाउन र समस्यामा परेकाहरुलाई सघाउने काममा सरकारलाई बाध्य पार्नुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम ल्याएर उद्धारको काम गरी सुत्केरी हुन नसकेर ज्यान गुमाउन बाध्य धेरै महिलाको ज्यान बचाउनु भयो,’ शिवाकोटीले भन्नुभयो । उहाँले भण्डारीले गर्नुभएको कामलाई नजरअन्दाज वा अनदेखा गरेर अघि बढे महिला आन्दोलनले धिकार्ने भन्दै थप उपलब्धी प्राप्तीमा समेत चुनौती थपिने तथ्य राख्नुभयो ।

यस्तै राष्ट्रिय सूचना अयोगकी आयुक्त कमला ओली थापाले विद्या भण्डारीले चालेको कदमको परिणाम अहिलेको महिला अधिकार रहेकोमा कोही भ्रममा पर्न नहुने तथ्यांका राख्नुभएको थियो ।

कार्यक्रमका अन्य वक्ताहरु प्रवासी नेपाली मञ्चकी महिला विभाग प्रमुख कुन्ती थापा, उपप्रमुख जानकी कार्की, मुना थापा, बिभागकी सचिव सरिता भट्टराई, मनिता ढुंगाना, रेनु कार्की, निर्मला ढकाल, चण्डिका ओलीलगायतका वक्ताहरुले पनि महिला अधिकार प्राप्तीमा पूर्वराष्ट्रपति भण्डारीको योगदान अतुलनीय रहेको भन्दै प्रशंसा गर्नुभएको थियो ।