२ कार्तिक २०८३, सोमबार

वैदेशिक रोजगारमा यौनिक अल्पसंख्यकलाई अनेकौं पीडा

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । अनेक हन्डर भोगेका यौनिक तथा लैगिंक अल्पसंख्यक नागरिकको व्यथा कहालीलाग्दो छ । जुन कमै मात्र सार्वजनिक हुने गरेका छन् । यस्तै व्यथा भोग्नुभएको छ तेस्रोलिंगी महिला माया गुरुङले ।

उहाँले नेपालमा रोजगारीका अवसर नपाउँदा विदेश हानिनुपर्‍यो आज भन्दा १६ वर्ष अगाडी । कामको सिलसिलामा उहाँ खाडी मुलुक साउदी अरब पुग्नुभयो । अरू श्रमिक जस्तै समान काम गर्नुभयो, तर ज्याला समान पाउन सक्नुभएन । त्यति मात्रै होइन, फरक यौनिकता तथा लैगिंकता भएकै कारण कामबाट समेत निकालिनुपर्‍यो उहाँले ।

काम दिने कम्पनीका सञ्चालकले मात्रै होइन, उहाँको फरक लैगिंकतालाई लिएर सहकर्मी साथीबाट पटकपटक यौन दुर्व्यवहारको सिकार समेत बन्नुपर्‍यो । मालिकसँग रोइकराई गरेर लिएको पारिश्रमिक पाकिस्तानी सहकर्मी श्रमिकले लुटेको मायाको स्मरणमा ताजा मात्रै छैन, सम्झेर पीर समेत लाग्ने गरेको छ ।

मायाले आफ्नो वास्तविक पहिचान लुकाएरै काम गर्नुभयो साउदी अरबमा । कामकै सिलसिलामा उहाँको आफू जस्तै एक जना ‘गे’ साथीसँग भेट भयो । साउदीमा यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिका लागि कडा कानुन छ । उहाँले भन्नुभयो, ‘पहिचान खुलाएर त परै जाओस्, म यस्तो हुँ भन्दा नै जेल कोच्ने गरिन्छ भनौँ कठोर सजाय भोग्नुपर्छ ।’

उहाँले तेस्रोलिंगी हुँ भनेको भए सायद जेल बस्नुपर्ने समेत हुन सक्थ्यो । ‘यदि म यो हो भन्ने बित्तिकै जेलमा लगेर बन्धक बनाउने गर्थे । मसँगैको एक जना साथी भेटे म जस्तै फिलिङ्स भएको,’ मायाले भन्नुभयो, ‘उसले म एउटा गे हो भन्दै सबै साथीलाई भनेछ र साथीहरूले म्यानेजरलाई कुरा लाइदिएछन्, उसलाई साहुले प्रहरी बोलाएर थुनामा पठायो ।’

देशको अवस्थाले गर्दा माया जस्ता धेरै यौनिक तथा लैगिंक अल्पसंख्यक समुदाय खाडी मुलुक पुगेका छन् । महिला र पुरुषभन्दा बेग्लै फिलिङ्स भएका व्यक्तिहरू अझै पनि विदेश जानुपर्ने बाध्यतामा छन् । ‘बाँचिए नेपाल फर्किउँला घरपरिवार भेटौँला । यदि मरिएछ र बन्धक भइएछ भने मेरा सपनाहरू अपुरो रहनेछ भनेर काम गर्नुपर्थ्यो’ मायाले संक्षिप्त आफ्नो पीडा सुनाउनुभयो ।

घर परिवारको आर्थिक अवस्था सुधार्नका लागि हातका नङ्ग्रा खियाउँदै अर्काको देशमा काम गर्न पुगेकी मायाले एक पटक त आत्महत्याको प्रयास समेत गरेको सुनउनुभयो । ‘एक पटक मैले साउदीमै आत्महत्याको प्रयास पनि गरे,’ उहाँले विगत सुनाउँदै भन्नुभयो, ‘झट्टै आफूलाई कठोर बनाइहाले र आत्मबल बढाउँदै अर्को कम्पनीमा काम गर्न सुरु गरे ।’

उहाँले एउटा कम्पनीमा मात्रै पीडा भोग्नु परेन । अर्को कम्पनीमा काम गर्न जाँदा पनि उहाँले त्यही पहिलेको कम्पनीको जस्तै दुर्व्यवहार भोग्नुपर्‍यो । ‘कम्पनी चेन्ज गरेर अर्को कम्पनीमा जाँदा पनि फेरि म माथि हरेसमेन्ट र काम दलाई एउटै भयो,’ उहाँले भन्नुभयो, ‘न त मलाई नेपाल फर्कनको लागि टिकट नै दिए, मैले जसो तसो गरेर सात वर्ष काट्नुपर्‍यो । न खानाको ठेगान, न बस्नको ठेगान घरपरिवारले सन्चै छस् भन्दा सन्चै छु भन्नुपर्थ्यो ।’

मायाले १२ वर्षको उमेर आफू तेस्रोलिंगी भएको पहिचान गर्नुभएको हो । ‘म अरूभन्दा बेग्लै छु भन्ने १२ वर्षको उमेरमा थाहा भएको हो,’ उहाँले भन्नुभयो, ‘म सानैदेखि केटीको कपडा लगाएर नृत्य गर्ने गर्थे, मेरो उमेर बढ्दै गयो र मलाई महिलाप्रति होइन पुरुषप्रति नै आकर्षण बढ्दै गयो ।’

आफ्नो फरक यौनिकता तथा लैगिंकताका कारण नेपालमा भोगेको विभेद उहाँले विदेश पुगेका नेपालीबाट समेत भोग्नुपर्‍यो । उहाँ घरपरिवारले जबरजस्ती महिलासँग विवाह गराइदिँदा मानसिक समस्यामा समेत पर्नुभएको थियो । उहाँ घरपरिवारको दबाब झेल्न नसकेकै कारण पनि विदेश पुग्नुभएको थियो । घर परिवारको एउटा पीडा र विदेशको अर्को तनाव भोगेर मायाले जसोतसो सात वर्ष साउदी अरबमा काम गर्नुभयो । ‘अरू देशका व्यक्तिले त मलाई हेपे हेपे नेपाली व्यक्तिहरूले पनि मलाई हेप्ने गर्थे,’ उहाँले भन्नुभयो, ‘मेरो फिलिङ्स अरूभन्दा बेग्लै भए पनि म यो हो भनेर खुलेर हिँड्न पाउँदिन थिए ।’

माया सात वर्ष अगाडि नेपाल फर्किनुभयो । आफ्नो देशमा काम पाउने अवस्था नहुँदा उहाँले ठेलागाडामा व्यवसाय सञ्चालन गर्नुभयो । ठेलागाडा चलाउँदा पनि मायाले प्रहरी प्रशासनबाटै विभेदको सिकार बन्नुपर्‍यो । ‘तेस्रोलिंगीले ठेलागाडा चलाउने ? भनेर प्रहरीले लखेट्थे,’ मायाले भन्नुभयो, ‘अरू महिला र पुरुषलाई भने केही गर्दैनथे ।’

माया अहिले दक्षिण एसियामै पहिलो पटक नेपालमा समलिंगी विवाह गरेर कानुनी रूपमा दर्ता गर्न सफल हुनुभएको छ । मायाको पहिचान नेपाल संस्था स्थापना गरेर उहाँ अध्यक्ष बन्नुभएको छ । संस्था त खोल्नुभएको छ समुदायका सदस्यहरूलाई सहभागी गराएर । तर, उहाँले संस्था चलाउनका लागि सहयोग भने कतैबाट पाउन सक्नुभएको छैन् ।

विदेश जाने तेस्रोलिंगीले मात्रै होइन समलिंगीले पनि भोग्ने पीडा पनि लगभग समान नै छन् । आजभन्दा नौं वर्षअघि कतारको खलिफा सहरमा पुगेका परिवर्तित नाम सुरेश अधिकारीले पहिचान लुकाएरै काम गर्नुपर्‍यो । उहाँ ३३ वर्षका हुनुभयो ।

कतार मुस्लिम देश हो । ज्यानको बाजी थापेर सात समुन्द्रपारी घरको आर्थिक अवस्था सुधार्न पुग्नुभएका उहाँले एक सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गर्नुभयो । ‘जब पहिलो पटक म मदिना खलिफा सहरमा कामको सिलसिलामा पुगे त्यहाँ अन्तर्राष्ट्रिय स्तरको मदिना स्टेडियम बन्दै गरेको थियो, जसको लागि अन्य देशहरूबाट कामदारहरू माग गरिएको थियो,’ उहाँले भन्नुभयो, ‘म आफैमा एक समलिंगी पुरुष भएकोले र कतार जस्तो मुस्लिम देशमा समलिंगी तेस्रोलिंगी जस्ता यौनिक तथा लैगिंक अल्पसंख्यकलाई हेयको भावले हेर्ने हुँदा आफैमा आफ्नो लैगिंक पहिचान लुकाएर काम गर्नुपर्ने बाध्यता आयो ।’

उहाँले दुई वर्ष कतारमा काम गर्नुभयो । तर हरेक दिन बाँचेर पनि मरेको अनुभूति गरिरहनुभयो । ‘जहाँ आफ्नो लैगिंक इच्छा अनुसार बाच्न र काम गर्न पाउने अधिकार छैन, जसलाई अप्राकृतिक र अपराध मानिन्छ त्यस्तो ठाउँमा सहज र सुरक्षित कसरी महसुस गर्न सकिन्छ ?’ उहाँले प्रश्न गर्नुभयो । उहाँले धेरै व्यक्तिहरू यौन झुकाव, लिंग र लैगिंकताका आधारमा हिंसामा परेको सुनाउनुभयो । हिंसामा पर्दा समेत कानुनी उपचार पाउन नसकेका कतिपयले अकालमा ज्यान नै गुमाउनु परेको छ । यस्तो पीडा भोगिरहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि सुरक्षित र मर्यादित रोजगारी छैन् ।

नेपालमा पढेलेखेका काम गर्न सक्ने उमेर समूहका व्यक्तिहरू रोजगारीका अवसर शून्यप्राय हुँदा विदेश पलायन हुनुपरेको छ । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि आफ्नो रोजीरोटीका लागि विदेश पलायन भइरहेका छन् ।

आज भन्दा छ वर्ष अघि साउदी अरब पुगेका परिवर्तित नाम पुकार माझीले माया र सुरेशको जस्तै पीडा भोग्नुभयो । ‘पहिलो पटक साउदी आए, सुरु सुरुमा न भाषाको ज्ञान थियो न त्यहाँको नीति नियम नै थाहा थियो,’ उहाँले भन्नुभयो, ‘सफाइ कर्मचारीको रूपमा म साउदी अरब रियाद सहरको एक म्यानुफ्याक्चरिङ्ग कम्पनीमा काम गर्न पुगेको थिए ।’ तर, उहाँको हाउभाउलाई लिएर विभिन्न उपनाम सहनु पर्‍यो । समलिंगी पुरुष भएकै कारण काम गर्ने ठाउँमा आनीबानीलाई लिएर छक्का हिजडा समेत भनेको उहाँले सुनाउनुभयो ।

‘बंगलादेश, पाकिस्तान, भारत, श्रीलंका साथै आफ्नै देशका नेपाली मानिसहरूले पनि काम गर्ने ठाउँमा केटीको जस्तो हाउभाउ छ छक्का, हिजडा हो भन्ने गर्थे,’ उहाँले भन्नुभयो, ‘साथीहरू माझ मलाई हेरेर कानेखुसी पनि गर्थे ।’

उहाँले बंगलादेशी रुम पार्टनरबाट यौन हिंसा समेत भोग्नुभयो । ‘बस्ने ठाउँमा बंगलादेशी रुममेटबाट यौन शोषणमा परेको छु, किन कि साउदी एक यस्तो देश हो जहाँ महिलाहरूलाई पुरुष सरह स्वतन्त्रता छैन र यौन चाहाना पूरा गर्न महिलासँगको पहुँच गाह्रो छ र महिलाको कानुन पनि कडा छ जसले गर्दा लुकिछिपी पुरुषले यौन चाहना मेटाउन पुरुष नै प्रयोग गर्ने गर्दछन् ।’ उहाँले भन्नुभयो ।

यसकै कारण उहाँ मानसिक रूपमा समस्यामा समेत पर्नुभयो । ‘कुनै कुनै बेला त आत्महत्या गर्दिऊ कि भन्ने नआएको पनि होइन एकातिर गाउँबाट साहुको ऋण लिएर परदेश आइयो अर्कोतिर काम भने जस्तो छैन र लैगिंकताको कारण सहज रूपमा काम गर्ने वातावरण छैन,’उहाँले भन्नुभयो, ‘साउदी अरब आफैमा समलिंगी सम्बन्धलाई अपराध मान्ने देश हो जहाँ खुलेर म यो हो भनेर हिँड्न सक्ने कानुन छैन ।’

उहाँले समलिंगी, तेस्रोलिंगी विदेशी कामदारलाई सधैको लागी आउन नपाउने गरी डिपोर्ट गर्ने गरेको सुनाउनुभयो । ‘साउदीमा धेरै देशबाट काम गर्ने मानिसहरू आउने हुनाले त्यो देशका मानिसहरू साथै अन्य कामदारहरूबाट पनि मैले विभेद भोगेको छु,’ उहाँले भन्नुभयो, ‘आफ्नो यौनिकता र लैगिंकता अनुसार काम गर्ने वातावरण त्यहाँ छैन, कसो कसो ज्यानै जोखिममा राखेर ६ वर्ष बाध्यताले साउदी जस्तो कट्टर मुस्लिम देशमा समय बिताएर आइयो ।’

मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले देशमा रोजगारीका अवसर नहुँदा कामको सिलसिलामा समुदायका धेरै व्यक्तिको श्रम गन्तव्य खाडी मुलुक हुने गरेको सुनाउनुभयो । ‘स्वदेशमा काम पाइँदैन, कामका लागि विदेश जानु पर्ने बाध्यता छ,’ उपाध्यक्ष केसीले भन्नुभयो, ‘विदेशमा थाहा पाउने बित्तिकै कामबाट निकालिदिने मात्रै नभई देश निकालिएपछि स्वदेश फर्किएकाहरूको पीडा सुन्ने कोही छैनन् ।’

नेपालसहित विश्वका अधिकांश देशमा यौनिक तथा लैगिंक अल्पसंख्यकमैत्री श्रम अभ्यास भएको पाइँदैन । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) अभिसन्धि १८९ मा समलिंगी तेस्रोलिंगीको अधिकार उल्लेख गरिएको छैन ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले आइएलओ अभिसन्धि १८९ मा यौनिक तथा लैगिंक अल्पसंख्यक श्रमिकको अधिकार सुनिश्चित गरिएको छ छैन सोध्नुभयो । सचिव पाण्डेले विदेश गएका समुदायका साथीहरूको पीडा अन्त्य गर्नका लागि ट्रेड युनियनहरूसँग लबिङ गरिरहेको बताउनुभयो ।

उहाँले दक्षिण एसियाली ट्रेड युनियनसँग समुदायले रोजगारीका क्रममा भोग्दै आएको समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेको बताउनुभयो ।

नेपाल सरकारलाई यो अभिसन्धि अनुमोदन गर्न दबाब दिँदै आएकी विजया राईले यौनिक तथा लैगिंकताको आधारमा श्रममा विभेदको कल्पनै नगरिएको बताउनुभयो । ‘समलिंगी तेस्रोलिंगी शब्द अभिसन्धिमा नपरेको हुनसक्छ,’उहाँले भन्नुभयो, ‘हरेक श्रमिकको अधिकार अभिसन्धिले सुनिश्चित गरेको छ, नेपाल सरकारले अनुमोदन गर्न ढिला गर्नु हुँदैन ।’

पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले यौनिक तथा लैगिंक अल्पसंख्यकलाई रोजगारीमा समान अधिकार दिन माग गर्नुभयो ।

उहाँले समुदायका सदस्यका लागि वैदेशिक रोजगार सुरक्षित हुन नसकेको बताउनुभयो । पन्तले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायमैत्री श्रम कानुन बनाउनुपर्ने बताउनुभयो । ‘एक जना तेस्रोलिंगीलाई उसको यौनिकताका आधारमा कम्पनीले कामबाट निकालिदिएछ,’ उहाँले भन्नुभयो ,‘त्यो देशले पनि निकाला गरेपछि उनी नेपाल फर्किएछन् ।’