
काठमाडौं । बिहेको लगन र विश्व बजारको मागले पहेंलो धातु सुनको मूल्य अकाशिएको तर्क गरिरहनुभएको छ व्यवसायीहरु । नेपाल सुनचाँदी व्यवसायी महासंघ नै भनिरहेको छ यो वर्ष सुनको मूल्य दोब्बर बढेर रेकर्ड नै राख्यो ।
सुन आभूषणको लागि एक अभिन्न धातु मानिन्छ र यसलाई गरीब होस् कि धनी सबै देश र वर्गमा उच्च महत्व दिने गरिएको छ ।
एकदिन अघि मात्र बजारमा सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँ हाराहारीमा किनबेच भएको महासंघले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढेर जाने अनुमान गरिएको छ । तर कतिसम्म बढ्छ भन्ने जवाफ कसैसँग छैन । महासंघका अनुसार पाँच वर्ष पहिले २०७५ चैतमा सुनको मूल्य अधिकतम ६० हजार ६०० रुपैयाँ थियो । त्यसयताका हरेक वर्ष सुनको मूल्य तीव्र गतिमा बढिरहेको छ ।
ज्यादा महत्व दिईएकाले नै हो सुन जति महँगो भएपनि जसोतसो खरिद गर्छन् यसका उपभोक्ता र आफूलाई गरीब छैन भनेर जबजस्ती प्रमाणित गर्ने प्रयत्न गरिरहन्छन् । सुन व्यक्ति र परिवारको आर्थिक र सामाजिक हैसियत मापन गर्ने अमूल्य मापनयन्त्र बन्न पुगेको छ ।
राजनीतिमा नेताको र आभूषण बजारमा सुनको मूल्य कतिखेर बढ्छ कतिखेर खस्छ कुनै ठेगान हुँदैन । सत्ता गठबन्धन अस्थिर छ । यसको स्थायित्व ज्यादै अनिश्चित बन्दै गएको छ । समझदारीमा भन्दा पनि नेताको सनकमा गठबन्धनको आयु निर्भर गर्न थालेको छ ।
वर्षदिन अघिमात्र नेपाली कांग्रेस सहितका दलहरुको समर्थन लिएर प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहालले हालै आँधीहुरी नै सिर्जना गरेर पुरानो गठबन्धन भत्काउने र नयाँ बनाउने कार्य सम्पन्न गर्नुभएको छ । दाहाल नेतृत्वको दल माओवादी केन्द्र संस्थागत निर्णय नगर्न विवश छ । दाहाल नै निर्णायक हुन् भनेर त्यो दलले सर्वाधिकार उहाँलाई नै सुम्पिसकेको छ । तसर्थ, गठबन्धन तोडफोड गरेर अर्को बनाउन दाहाललाई अरु कसैको परामर्श आवश्यक भएन । शक्ति केन्द्रहरुमा आफैं दौडधुप गरेर दाहालले नयाँ गठबन्धनको जग बसाले र अनिश्चित भविष्य भएको सरकारको संरचना निर्माण गर्नुभयो ।
‘उथलपुथलका नायक’ दाहालले यो छोटो अवधिमा सत्ताको नायकत्व त आफैंसँग राख्न सफल हुनुभयो तर संसद र सार्वजनिक बहसमा उहाँको बजार भाउ निकै नै खस्केको छ । शेयर बजार र सुनको भाउ बढेपनि दाहालको भाउ ह्वात्तै घटेको हो । उहाँ ‘धोकेबाज र अविश्वसनीय पात्र’ का रुपमा प्रचारित भैसक्नुभएको छ । नवीन गठबन्धनका आर्किटेक्चर मानिनुभएका केपी शर्मा ओलीले पनि आफ्नो भाउ जोगाउन सक्नुभएन ।
विगतमा आफैंले नेता मानेका अर्का नेतालाई निम्नकोटीको टिकाटिप्पणी गरेर जीवनभर उहाँसँग आमनेसामने नै नहुने ठोकुवा गरिसक्नुभएका ओलीले ती नेताको निवास छिरेर क्षमायाचना समेत गर्नु राजनीतिको दूर्लभ घटना मानिएको छ । माधव कुमार नेपाल एमालेका पूर्व महासचिव र अध्यक्ष पनि भैसकेका नेता हुनुहुन्छ । ओलीको छुच्चो शैलीसँग असमत भएपछि एकीकृत समाजवादी दल खोलेर राजनीति गरिरहनुभएका नेपाललाई ओलीले उहाँको नाम काढेपछि आफ्नो मुख कुल्ला गर्छु भनेर सार्वजनिक रुपमै घोषणा गर्नुभएको थियो । तर माओवादी केन्द्रका अध्यक्ष दाहालसँग नयाँ गठबन्धन बनाउन सहमत भएपछि पुराना सबै कुरा बिर्सेर ओली दाहालसँगै नेपाल निवास छिर्न हिच्किचाउनु भएन । नेपालकै धर्मपत्नीले पकाएको कालो चिया सुक्र्याएर ओली फर्किएपछि नयाँ गठबन्धनको भविष्य सुनिश्चित भएको हो ।
यो घटनापछि एमाले अध्यक्ष ओलीको राजनीतिक बजार भाउ ओरालो लागेको राजनीतिक विश्लेषकको ठम्याईं छ । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही पनि हुँदैनन् भन्ने परम्परागत भनाईलाई ढाल बनाएर नेताहरु नैतिक अनैतिक र जायज नाजायज कर्महरु गरिरहन्छन् । जसरी दाहाल र ओलीले नयाँ गठबन्धनको खाका तयार गरेर नयाँ सहकार्य सुरु गर्दा त्यही बाटो समाउनुभयो । त्यसो त हालको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि आलोचनाबाट मुक्त छैन । संविधानको आधारभूत मूल्यमान्यता विपरीत धर्मनिरपेक्षता विरोधी प्रस्ताव ग्रहण गरेर उल्टो बाटो हिँड्न खोजेको भनेर नयाँ गठबन्धनका निर्माताहरुले नेपाली कांग्रेसमाथि आरोप लगाईरहनुभएको छ । महासमिति बैठकमा उसले हिन्दू धर्मको पक्षमा संकलन गरिएको बहुमत महासमिति सदस्यको हस्ताक्षर सहितको प्रस्ताव नेपाली कांग्रेसले ग्रहण गरेकै हो । यस कारण उसको पनि राजनीतिको मूल प्रवाहमा भाउ खस्किएको टिप्पणी भैरहेको छ ।
गएको संसदीय निर्वाचनमा अप्रत्याशित रुपमा उदाउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्ना बारेमा गम्भीर कानूनी अनुसन्धान सम्पन्न नभईकन गठबन्धनको वाध्यताको पात्र बनेर फेरि गृह जस्तो संवेदनशील मन्त्रालयको नेतृत्वमा पुगेपछि त्यस दलको लोकप्रियतामा पनि प्रश्न गर्न थालिएको छ । जनतामाझ बढ्दै गएको भाउ उहाँकै कर्मले खस्किन थालेको देखिएको छ ।
समाजको लेखापरीक्षणमा दल र तिनका नेताको प्रतिवेदन बेरुजुले भरिएर आईरहेको देखिन्छ । यसको फस्र्योट त आगामी निर्वाचनहरुमा अवश्य नै होला । नजिकै आईरहेको उपनिर्वाचन पनि दलहरुको हैसियत मापन गर्ने एउटा महत्वपूर्ण अवसरका रुपमा मतदाताले उपयोग गर्ने नै छन् ।
यसरी दुइवटा बजारमा कसैको भाउ बढ्ने र कसैको घट्ने क्रम जारी रहेको छ । नेता र दलको भाउ घट्दा सिंगो संसदको भाउ बढ्ने सम्भावना रहँदैन । त्यसैले दलहरुको क्रियाकलापको सोझो असर जननिर्वाचित संसदमा पनि परिरहेको छ, जसलाई दलहरुले उपेक्षा गरिरहेका छन् ।








प्रतिक्रिया