३१ असार २०८३, बुधबार

खाल्डोबाट निकालियो बालकको शव, हत्या आशंकामा बुवाआमा प्रहरीको नियन्त्रणमा

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २५ फागुन । पर्साको वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शव निकालेर प्रहरीले बुबा आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी शम्भु महतो धानुक र आमा सबितालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई नजिकको सिर्सिया नदी छेउको आर्यघाटमा खाल्डो खनेर गाडिएको अवस्थामा १२ वर्षीय दिलिप मण्डल धानुकको शव निकालेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो । थापाका अनुसार प्रहरी तथा छिमेकीलाई समेत खबरै नगरी शव गाडेको हुँदा घटना शंकास्पद देखिएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको सयुँक्त टोलीले आर्यघाटबाट शव निकालेको थापाले बताउनुभयो । आमा–बुबाले बिहीबार घरकै एक कोठामा दिलिपलाई थुनेर ज्याला मजदुरीका लागि घरबाट निस्किएको छिमेकीले बताउनुभएको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार कामबाट बिहीबार साँझ घर फर्किदाँ दिलिप कोठामै मृत अवस्थामा भेटिएपछि डरले कसैलाई थाह नदिई अटोरिक्सामा शव राखेर घाटमा लगेर गाडेको बुबा शम्भुले स्वीकार गर्नुभएको छ ।

दिलिप लागूपदार्थको कूलतमा फसेको र अरुको घरघरमै पसेर मोबाइल लगायतका सामान चोरेर हैरान पार्न थालेपछि आफुहरु कामका लागि बाहिर जाँदा दिलिपलाई कोठामै थुनेर जाने गरेको बुबा दिलिपले प्रहरीसमक्ष बयान दिनुभएको छ । दिलिपको शवलाई पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।

पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बालकको मृत्युको यकिन कारण खुल्ने र त्यसको आधारमा प्रहरी अगाडि बढ्ने प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।