२७ असार २०८३, शनिबार

नेप्से बढ्यो कारोबार रकम बढेन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार पनि अघिल्लै दिनको नियति दोहोरिएको छ । नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनभन्दा पनि घटेको छ ।

नेप्से १३.५१ अंकले बढेर २०३०.५५ विन्दुमा पुगे पनि कारोबार रकम घटेको हो । बिहीबार ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार नेप्से ९.३३ अंकले बढेर परिसूचक २०१७.०३ विन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ४५ करोड रुपैयाँ थियो । जबकी मंगलबार ७०.३१ अंकले बजार घट्दा पनि कारोबार ४ अर्ब ४ करोडको भएको थियो ।

दलीय सत्ता समीकरण फेरबदलसँगै मंगलबार मात्रै बुधबार मात्रै अर्थमन्त्री फेरिनुभएको छ । अर्थमन्त्रीमा माओवादी नेता वर्षमान पुन आउँदा सेयर बजार परिसूचक बढे पनि कारोबार रकम घट्दा भने बजारले उहाँको आगमनलाई खासै उत्साहजनक नलिएको संकेत दिएको छ । उहाँको आगमनमा सेयर बजारका लगानीकर्ता ‘पर्ख र हेर’ को मनस्थितिमा देखिनुभएको छ ।

बिहीबार होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापारबाहेकका १० उपसमूहको सेयर मूल्य बढेको छ । सर्वाधिक निर्जीवन बीमा समूह १.५६ र जलविद्युत १.१४ प्रतिशतले बढेका छन् । कारोबार भएकामध्ये १ सय ७६ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् । ५९ कम्पनीको घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

सेयर मूल्य सर्वाधिक बढ्नेमा पिपुल्स हाइड्रोपावर छ । सर्वाधिक कारोबार हुनेमा नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, सोनापुर मिनरल्स, मोलुङ हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट छन् । नेपाल पुनर्बीमाको ५६ करोड २० लाख, शिवम्को १६ करोड ४१ लाख र सोनापुरको १३ करोड ४१ लाखको सेयर किनबेच भएको छ ।