२५ जेष्ठ २०८३, सोमबार

इलाम–२ उपनिर्वाचन : एमालेले चैत ५ सम्ममा केन्द्रमा उम्मेदवार सिफारिस गर्ने

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २३ फागुन । इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदवार सिफारिसको तयारी गरेको छ ।

आज बसेको जिल्ला सचिवालय बैठकले यसका लागि एउटा कार्यदल बनाएको छ । कार्यदलले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने पार्टीले जनाएको छ ।

बैठकले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम हुनुहुन्छ ।

कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ । उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले फागुन २७ सम्म आफ्नो व्यक्तिगत विवरणसहित कार्यदयमा इच्छा जाहेर गर्ने पार्टीले जनाएको छ ।

त्यसपछि चैत ३ सम्म कार्यदलले जिल्ला कमिटीमा उम्मेदवारको सूची पेस गर्नेछ भने जिल्ला कमिटीले चैत ५ गते केन्द्रमा उम्मेदवार सिफारिस गर्ने जनाइएको छ ।

उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्नुपर्ने भनिएको छ ।

पार्टीले उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिको मापदण्ड निर्धारण गरेको छ । यसअघि संसदीय निर्वाचनमा पराजित हुने व्यक्ति उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने, लोकप्रियता र पार्टीमा योगदानलगायत मापदण्ड लागि तय गरिएको छ ।

उपनिर्वाचनमा उम्मेदवार बन्न दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित बुद्धिप्रसाद खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराईको नाम चर्चामा छ ।