२२ असार २०८३, सोमबार

बालेनको रिट संवैधानिक इजलासमा पेशी

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले निर्वाचन आयोगविरुद्ध दायर गर्नुभएको रिटमा पेशी तोकिएको छ । शाहले निर्वाचन खर्चको विषयमा आफूमाथि गरेको जरिवाना र कारवाहीको निर्णय बदर हुनुपर्ने रिटमा जिकीर गर्नुभएको छ ।

समयमा निर्वाचन खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले जरिवाना गरेपछि मेयर बालेनले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिर्ता गराउनुभएको थियो । रिट संवैधानिक इजलासमा आज पेशी तोकिएको छ ।

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र प्रकाश कुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ । पेशी पहिलो नम्बरमा रहेको छ । आयोगको निर्णय पुर्वाग्रही रहेको र एकपटक पनि मौका नदिएकाले रोक्न अन्तरिम आदेशको माग बालेनले रिटमा गर्नुभएको छ ।

निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले मेयर बालेनसहित देशभरका स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । रिटमा उहाँले आफूले समयमै पेश गरेको तर पनि जरिवानाको निर्णय भएकाले निर्णय खारेज हुनुपर्ने जिकिर गर्नुभएको छ ।

वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा उहाँ काठमाडौं महानगरमा लौरो चिह्न लिएर स्वतन्त्र रुपमा विजयी हुनुभएको थियो ।

बालेनको रिटमा कानुनले तोकेको अवधिभित्रै असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको दाबी गरिएको छ ।

निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेमा ३० औं दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट पेश गरेको बालेनले दाबी गर्नुभएको छ ।

समयमा खर्च विवरण नबुझाएको देखिएको भन्दै आयोगले सात लाख ५० हजार जरिवाना तिराउने निर्णय गरेको थियो । स्थानीय चुनावमा भाग लिने देशभरका एक लाख २३ हजार उम्मेदवारलाई एकमुष्ट जरिवाना गर्ने निर्णय आयोगले गरेको थियो ।

६ महिनाभित्र नबुझाए ६ वर्षसम्म कुनै निर्वाचनमा भाग लिन नपाउने र निर्वाचित भए पदमुक्त हुने भनी गरेको निर्णय बदरको माग रिटमा गरिएको छ ।