
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाएर नेकपा (एमाले)सँग सत्ता सहकार्य गर्ने स्पष्ट पार्नुभएको छ ।
सोमबार सुखानी सहिदका परिवारसँग भेट गर्नुभएका उहाँले आफूले कम्युनिष्ट एकताको लागि थप पहल आजैबाट सुरु गरेको बताउनुभयो ।
माओवादीले कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ । आज सप्ताहको अन्तिम दिन दाहालले जनयुद्धमा मारिएका सहिद परिवारका सदस्यहरुसँग भेट गर्नुभएको थियो ।
तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो ।
सहिद परिवारका सदस्यहरु विशेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायतसँगको भेटमा प्रधानमन्त्री दाहालले सहिदप्रति उच्च सम्मान रहेको उल्लेख गर्दै भन्नुभयो, ‘आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ,’ दाहाल सचिवालयले जनाएको छ ।
फागुन २१ गते अर्थात् आज सुखानी हत्याकाण्ड भएको ५१ वर्ष पूरा भएको दिन हो । सुखानीको जङ्गलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा एक साता सहिद सप्ताह मनाइएको छ ।








प्रतिक्रिया