८ असार २०८३, सोमबार

मदिराले छिनको छिनमा निम्त्याएको गोपाल ढकालको हत्या, श्रीमतीलाई दुई लाख माग्दै ‘प्राङ्क’ कल

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । तेह्रथुम छथर गाउँपालिका-५ घर भई भक्तपुर बस्दै आएका गोपालप्रसाद ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ पर्नुभएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चाँगुनारायण नगपालिका-६ का २९ वर्षीय सन्तोष सुवाल रहनुभएको छ ।

सुवाललाई शनिबार काभ्रेपलाञ्चोक मन्डन देउपुर नगरपालिका-६ बाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो । सूर्यविनायक-८ सिपाडोलमा बस्दै आउनुभएका ३३ वर्षीय ढकालको गत फागुन ९ गते राति हत्या भएको थियो। उहाँको सोही ठाउँको एउटा गोठमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो।

हत्यापछि ढकालको मोबाइलसहित फरार भएका सुवालको साथबाट मोबाइलसमेत बरामद भएको छ। ९ गते राति ८ बजे ढकाल कोठाबाट निस्किनुभएको थियो । त्यसपछि नजिकैको पसलमा खानपिनपछि सुवालसँग गोठतर्फ जानुभएको थियो ।

त्यहाँ पुगेपछि ढकालको मोबाइलबाट सुवालले श्रीमती रेनुलाई फोन गर्दै दुई लाख रुपैयाँ लिएर आउनू भनी धम्की दिनुभएको थियो । भोलिपल्ट वृत्त जगातीमा रेनुले खोजीका लागि निवेदन दिनुभएको थियो । खोजीको सिलसिलामा फागुन ११ गते बिहान ढकालको शव फेला परेको थियो।

सुवालले ढकाललाई ९ गते राति नै हत्या गरेको अनुसन्धानले देखाएको छ।

यस्तो थियो हत्याको कारण

सुवाल चाँगुनारायण घर भए पनि सिपाडोल-८ मा श्रीमतीको साथ डेरामा बस्दै आउनुभएको थियो । उहाँ सामान्य पृष्ठभूमिका मानिस हुनुहुन्छ । ढकाल र सुवालको त्यही दिन राति मदिरा पसलमा चिनजान भएको रेग्मीले जानकारी दिनुभयो ।

मदिरा सेवन गर्ने क्रममा दुबै नजिकिनुभयो । ढकाल र सुवालकै योजनामा उहाँहरूले श्रीमती रेनुलाई ‘प्राङ्क’ कल गरी रकम माग्नुभएको थियो । ‘हत्याअघि नै दुई लाख रुपैयाँ मागेर जिस्क्याउने योजनाअनुसार दुबैको सहमतिमा फोन गरेको देखिन्छ,’ उहाँले भन्नुभयो ।

मदिराको सुरमा दुबै जना सुवालको कोठा गए। रेग्मीका अनुसार कोठामा पुगेपछि सुवाल र ढकालको झगडा परेको थियो। ‘ढकालले सुवालकी श्रीमतीलाई दुर्व्यवहार गरेको, हात समातेको देखेपछि दुबै जनाबीच झगडा भएको खुलेको छ,’ एसपी रेग्मीले भन्नुभयो ।

झगडापछि दुबै जना हातपात गर्दै कोठाबाट निस्किनुभयो । वारिपट्टीको रोशन बस्नेतको कच्ची गोठसम्म पुग्नुभयो । झगडा भइरहेको बेला सुवालले अचानक ढकालमाथि इँटा र ढुंगा प्रहार गरेको रेग्मीले जानकारी दिनुभयो । टाउकोमा इँटा-ढुंगा प्रहार गर्दा ढकालको मृत्यु भयो। त्यसपछि उहाँले गोठमा परालले शव छोप्नुभयो ।

ढकालको मोबाइलसमेत लिएर सुवाल फरार हुनुभएको थियो । घटना भएपछि जिल्ला प्रहरी परिसर भक्तपुर, अपराध अनुसन्धान कार्यालय र वृत्त जगातीले अनुसन्धान थालेका थिए। रकम माग गरिएकाले सुरूमा अपहरणपछि हत्या भएको हुनसक्ने आशंका गरिए पनि अनुसन्धानले त्यसलाई सहारा नदिएको रेग्मीले जानकारी दिनुभयो ।