२ श्रावण २०८३, शनिबार

गणतन्त्रको पछिल्लो पन्ध्र वर्षमा सबै क्षेत्रमा तिव्र विकास भएको छ : पुन

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गणतन्त्रको पछिल्लो पन्ध्र वर्षको समयावधिमा देशमा स्वास्थ्य, शिक्षा, खेलकुद, भौतिक पूर्वाधार निर्माण लगायत सबै क्षेत्रमा तिव्र विकास भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा प्रथम शहीद स्मृति बागमती प्रदेश रनिङ शिल्ड प्रतियोगिताको खेलाडी सम्मान तथा शहीद बेपत्ता परिवार सम्मान कार्यक्रममा उपमहासचिव पुनले देशमा गणतन्त्र आएपछि तुलनात्मक रुपमा शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधारलगायतका क्षेत्रमा तिव्र विकास भएको चर्चा गर्नुभयो ।

‘हामीले ३० वर्षको पञ्चायत हेर्यौं त्यसपछिको राजतन्त्रात्मक संसदीय व्यवस्था पनि हेर्यौं । त्यसयताको व्यवस्थामा भएका कामलाई तुलनात्मक रुपले हेर्यौं भने शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा तिव्र विकास भएको छ । त्यो नेपालीको आकांक्षा र आवश्यकता अनुसार अझै भएको छैन’ पुनले भन्नुभयो ।

उपमहासचिव पुनले खेलकुदको विकासमा आफ्नो सरकारले प्राथमिकता दिएकै कारण क्रिकेट, भलिबल र महिला फुटबलमा राम्रो नतिजा आएको दाबी गर्नुभयो ।

पुनले भन्नुभयो, ‘समग्र खेलकुदको विकासको लागि प्रधानमन्त्री र सरकारले गरिराखेको प्रयत्नमा क्रिकेटमा राम्रो रिजल्ट आएको छ । भलिबलमा राम्रो नतिजा आएको छ। खासगरी महिला फुटबलमा राम्रो परिणामहरु देखिएको छ। सरकारले खेल क्षेत्र र खेलाडिलाई प्रोत्साहन गरिराखेको छ ।’

उहाँले खेल क्षेत्रलाई देशको प्रतिष्ठा उँचो बनाउने माध्यमको रुपमा सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।