
काठमाडौं, १८ फागुन । नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एउटा व्यक्तिको सोच र विचारमा धेरै मानिसको भाग्य भविष्य जोडिने बताउनुभएको छ ।
लमजुङको क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा शुक्रबार आयोजित क्वोइचो मिलन आमा समूहको सामुदायिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले आफू गण्डकी प्रदेश सकरकारबाट हटेपछि धेरै मानिसको भाग्य र भविष्यमा आघात परेको बताउनुभयो ।

एमाले सरकारबाट हटेपछि एमालेको पालामा सुरु भएका धेरै योजनामा बजेट कटौती गरिएका भन्दै गुरुङले आपत्ति जनाउनुभयो । ‘मेरो सरकार गएपछि यहाँको धेरै मानिसहरूको भाग्य र भविष्य गयो, एउटा व्यक्तिको सोचमा धेरै मानिसको भाग्य र भविष्य जोडिएको हुन्छ, मेरो सरकार गएपछि धेरैको सपना टुट्यो ।’ उहाँले भन्नुभयो ।
विकासको लागि सबै कुरा मिल्नु पर्ने उहाँले बताउनुभयो । ‘विकासको चाहनाले मात्रै भएर नहुने रहेछ, त्यो कुरा सुन्ने मान्छे चाहिने रहेछ, योजना भएको मान्छे चाहिने रहेछ ।’ उहाँले भन्नुभयो ।
जिम्मेवार पार्टीकै नेताहरूको निर्माण कम्पनीले ठेक्का लिएको सडक समेत समयमा सम्पन्न नभएका उहाँले बताउनुभयो । लमजुङमा निर्माण भइरहेको सडक निर्माणको जिम्मा ठूलै पार्टीका ठूलै नेताको कम्पनीले लिएको भएन पनि बारम्बार भन्दा समेत समयमा काम नगरेको उहाँले बताउनुभयो । ठेकेदार भागेर हिँड्ने तर सरकारले समाएर काम लगाउन नसक्ने अवस्था रहेको गुरुङले बताउनुभयो ।
‘बल्ल बल्ल सुरु भएको कामको ठेकेदार परेछ काम नलाग्ने, ठेकदार अहिले एउटा पार्टीको ठूलो नेता छ, सांसद पनि हो त्यो, संसदमा पनि धेरै पटक ऊसँग कुराकानी गरेको छु, तपाईँले काम गर्नुभएन भने यो संसदमा उठेर तपाईँको कन्ट्रक्सनको विरुद्धमा तपाईँको नामै लिएर मैले विरोध गर्छु भनेको छु ।’ गुरुङले भन्नुभयो ।
निर्माण व्यवसायीलाई भन्दा भन्दा अहिले केही काम सुरु भएको गुरुङले जानकारी दिनुभयो । ‘अहिले बल्ल अलिअलि काम सुरु गरेको छ ।’ गुरुङले भन्नुभयो । सञ्चालनमा रहेका योजनामा पनि अति कम बजेट विनियोजन गरिएको र कामको गति अति सुस्त भएको गुरुङले बताउनुभयो ।









प्रतिक्रिया