
काठमाडौं, १८ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको ठाउँ रहेको बताउनुभएको छ ।
नारायणी नदी किनारमा शुक्रबार आयोजित भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भरतपुर पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गसमेत छोएको ठाउँ भएकाले पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘उत्तरदक्षिण बाटो, पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्गसहितले छोएको यस्तो ठाउँ यहाँ पर्यटनको प्रचुर सम्भावना छ । मैले आफ्नो समयमा नदीको बाटोबाट गंगानदी जोड्ने र हाम्रो कोशी, नारायणी, कर्णाली जस्ता नदीहरुलाई प्रयोग गरेर नदीको बाटोबाट कोलकाता बंगालसम्म जोडिने कुरालाई अगाडि बढाएको थिएँ ।’
अध्यक्ष ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइसराई गरेर आएका र यहाँका आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको धारणा व्यक्त गर्नुभयो ।
भरतपुरमा पूर्वाधार विकाससँगै कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रको केन्द्र बनाउन सकिने भन्दै यहाँको विश्वविद्यालयले कृषि क्षेत्रमा मार्गदर्शनको काम गर्न सक्नुपर्ने उहाँको भनाइ थियो ।









प्रतिक्रिया