६ असार २०८३, शनिबार

जनताको शक्ति बुझेमात्रै देश विकास हुन्छ : रवि लामिछाने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारले जनताको शक्तिलाई बुझ्न सके देशको मुहार फेरिने बताउनुभएको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को शुक्रबार नारायणगढमा आयोजित उद्घाटन समारोहमा उहाँले मञ्च रहेको शक्तिले मञ्च तलको शक्तिलाई पहिचान गर्नुपर्ने र यसो गर्न सके मात्रै देशले नयाँ रुप लिने बताउनुभएको हो । मञ्चमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायत सँगै रहनुभएका लामिछानेले घुमाउरो पारामा कटाक्ष पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो मञ्च एकदमै शक्तिशाली देखिन्छ, कति शक्ति भएको जस्तो देखिन्छ । तर शक्ति यता होइन, उता छ । जुनदिन हामीलाई मञ्च तलको शक्ति थाहा हुन्छ । जुनदिन यहाँको शक्तिले त्यहाँको शक्तिलाई चिन्छ । त्यो दिन साँच्चै नै देशले मुहार फेर्नेछ ।’

यस्तै, उहाँले शीर्ष नेताहरु एउटै मञ्चमा रहेको विरलै दृश्य देखिएको भन्दै यो मञ्चमा बसेका सबै नेताहरु राष्ट्रिय मुद्दामा एक स्थानमा उभिन शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, ‘भ्रमण वर्षको सफलताको शुभकामना दिन चाहन्छु । विरलै देखिने शीर्ष नेताहरु एउटै मञ्चमा यो नेपाली जनताले अत्यन्तै कम देख्ने दृश्य हो । यो दृश्य देशको विकासका लागि आगामी पुस्ताको भविष्यका लागि यो मञ्चमा बसेका सबै नेताहरु राष्ट्रिय मुद्दामा एक स्थानमा उभिन सकुन्, शुभकामना व्यक्त गर्न चाहन्छु ।’

चितवन–२ बाट संसदकालागि निर्वाचित प्रतिनिधि भएको हिसाबमा यो क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।