३ श्रावण २०८३, आइतबार

बझाङ उपनिर्वाचन : कांग्रेसबाट लोकेन्द्र रोकायाको दाबी

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । वैशखा १५ मा बझाङ १ को ‘क’ प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट युवा नेता लोकेन्द्र रोकायाले आफ्नो दाबी रहने बताउनुभएको छ ।

काठमाडौंको अनामनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेता रोकायाले बझाङ १ ‘क’ प्रदेश सभामा आफ्नो दाबी रहने बताउनुभएको हो ।

उपनिर्वाचन हुने भएसँगै बझाङमा दलहरू आन्तरिक रुपमा उम्मेदवार छनोटमा जुटेको अवस्थामा कांग्रेसबाट रोकायाले दाबी गरिरहनुभएको छ ।

नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका रोकायाले आफू अहिलेसम्म राजनीतिक लाभको पदमा नबसेकाले यस पटक आफ्नो दाबी स्वभाविक भएको बताउनुभयो ।

‘म पार्टी र संगठनको हितमा काम गर्ने एक इमान्दार सिपाहि हुँ । अहिलेसम्म मैले लाभको राजनीति गरिन । यतिबेला जिल्लामा मसँगै अन्य नेताहरू पनि आकांक्षा राखिरहनु भएको छ । लोकतान्त्रिक दलमा आकांक्षा राख्ने सबैको अधिकार छ । म सबै आकांक्षीको भावनाको उच्च कदर गर्दछु । तर, टिकट पाउनुपर्ने उपयुक्त पात्र म हुँ । त्यहाँका जनताको चाहना पनि त्यही रहेको छ ।’ उहाँले भन्नुभयो ।

रोकायाले पार्टीको जिल्ला नेतृत्व, प्रदेश नेतृत्व र केन्द्रीय नेताहरूले पनि आफूलाई न्याय गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

रोकाया २०६२/०६३ सालको जनआन्दोलनमा दुई पटक जेल पर्नुभएको थियो । उहाँले २६ दिन र सात दिन गरी दुई पटक काराबास बिताउनुभएको छ ।

उहाँसँगै कांग्रेसबाट जगतप्रसाद जोशी, अभिषेक सिंह, सत्यराज भण्डारी, शान्ति बोहरा पुजारा, नन्दकृष्ण जोशी, विष्णु अएडीलगायतको नाम पनि चर्चामा छ।

नेपाली कांग्रेसबाट विजयी पृथ्वीबहादुर सिंहको गएको असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि यो क्षेत्र रिक्त थियो ।