२८ असार २०८३, आइतबार

इलाम–२ मा उम्मेदवार चयन पार्टीको विधि, विधान र प्रक्रिया अनुसार हुन्छ : संयोजक खनाल

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १६ फागुन । सरकारले इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचनको मिति तोकेको छ । मिति तोकिएसँगै निर्वाचन आयोगले चुनावको तयारीको थालेको छ । यससँगै सो क्षेत्रमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारका आकांक्षीहरूको दौडधुप पनि बढेको छ ।

यहाँबाट पटक–पटक विजयी हुँदै आउनुभएको र राष्ट्रिय नेताको पहिचान बनाउनुभएको नेकपा (एमाले)का तत्कालिन उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्बाङको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । एमालेले वर्षौसम्म लगातार चुनाव जितेको यो क्षेत्रमा अब एमालेले कसलाई अघि सार्ला ? यसबारे सर्वत्र चासो छ । अर्कोतिर नेम्वाङको छायाँमा परेका दर्जनौँ नेता कार्यकर्ताले आकांक्षा देखाउँदा एमालेलाई आकांक्षी व्यवस्थापन झन् सकस पर्ने देखिएको छ । तर आकांक्षी व्यवस्थापनमा समस्या नहुने एमाले इलाम जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय समन्वय कमिटी संयोजक बुद्धिप्रसाद खनाल बताउँनुहुन्छ । आफू स्वभाविक रुपमै उम्मेदवारको दाबेदार रहेको बताउनुभएको खनालले विधि, विधान, प्रक्रिया एवम उम्मेदवारको सक्रियता र योगदानका आधारमा एमालले उम्मेदवार चयन गर्ने बताउँनुहुन्छ ।

‘म सबै आकांक्षीहरुलाई सम्मान गर्छु । लोकतन्त्रको सुन्दरता भनेको प्रतिस्पर्धा हो र लोकतन्त्रमा आकांक्षा सबैले राख्न पाइन्छ । तर हाम्रो पार्टीको आफ्नै विधि विधान छ, प्रक्रिया छ । सो अनुसार संगठनले निर्णय गर्छ,’ उहाँले अगाडि भन्नुभयो, ‘इलाम २ को सवालमा पार्टीका चार हजार सक्रिय सदस्य, मतदाता, शुभेच्छुकको भावना र मर्मलाई ख्याल गरेर अघि बढ्छौं ।’

२०६३ पछि संविधान सभा अध्यक्ष सुवास नेम्बाङको स्वकीय सचिवका रुपमा निरन्तर काम गर्दै नेम्बाङलाई उक्त निर्वाचन क्षेत्रबाट पटक पटकका विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका खनालले उम्मेदवार चयनमा यसपटक एकदमै विवेक पुर्‍याउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘धेरै संचारमाध्यमतिर नेम्वाङप्रतिको सम्मान र सहानुभूतिको मत यस पटक पनि कायम रहने भनिएको छ । तर यसमा विश्वस्त हुन सकिदैन् । मेहेनत धेरै गर्नुपर्छ । उम्मेदवार मतदातासँग चिनिएको, भिजेको र घुममिल भएको फिगर हुनुपर्छ ।’

०४७ सालमै आदर्श माविको अनेरास्ववियुको अध्यक्ष, ०५४ मा मरब क्याम्पस इकाइ अध्यक्ष हुँदै ०६४ देखि निरन्तर इलाम २ को क्षेत्रीय समन्वय कमिटी संयोजक रहँदै आउनुभएका खनालले नेम्बाङ क्षेत्रमा आफू परिचित र बलियो उम्मेदवार भएको बताउने गर्नुभएको छ । ‘उम्मेदवारको आकाक्षा एकातिर छ तर म संगठन जिताउनुपर्छ भन्ने पक्षमा छु । श्रद्धेय नेता सुवास नेम्वाङको योजना र इलाम विकासको परिकल्पना मैंले नजिकबाट बुझेको छु । लगभग दुई दशक उहाँसँग सानिध्यमा बसेर काम गरें, हरेक मतदातासँग जोडिएर काम गरेको छु,’ उहाँले भन्नुभयो ।

इलाम २ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि खनाल, गणेश बराल, रविन्द्र सुवेदी, उदयबहादुर राई, उमेश गुरुङ, सुहाङ नेम्बाङलगायतले उम्मेदवार बन्ने इच्छा देखाउनुभएको छ ।

उम्मेदवार चयनको सिलसिलामा एमाले केन्द्रीय कमिटीले प्रदेश कमिटी, प्रदेशले जिल्लालाई र जिल्लाले क्षेत्रीय कमिटीलाई आधिकारिक पत्रचार गरेपछि उम्मेदवार चयनको प्रक्रिया अघि बढ्ने पनि उहाँले जानकारी दिनुभयो । क्षेत्रीय समन्वय कमिटीले आएका प्रस्ताव उपर छलफल गरी पठाएका उम्मेदवारको नाम केन्द्रले टुंगो लगाउने प्रावधान रहेको उहाँले जानकारी दिनुभयो ।