
काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भजन शिरोमणि भक्तराज आचार्यको उपचारको क्रममा भएको खर्च र आगामी दिनमा गर्नुपर्ने कार्यको लागि आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।
मंगलबार भक्तराज आचार्यको श्रद्धान्जली सभामा बोल्नुहुँदै उहाँले सरकारले सहयोग गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘मेरो तर्फबाट र नेपाल सरकारको तर्फबाट हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु । सबैमा समवेदना व्यक्त गर्न चहान्छु । उहाँले गीत संगीतको क्षेत्रमा जुन योगदान गर्नु भएको छ त्यो अमर नै रहन्छ । त्यसले संगीतको क्षेत्रलाई प्रेरणा र दिशा निर्देश गर्नेछ । उहाँको उपचारको क्रममा भएको खर्च र आगामी दिनमा गर्नपर्ने कामको लागि परिवारका सदस्यसँग कुराकानी गरेर जे गर्न सकिन्छ सरकारको तर्फबाट त्यो सहयोग हुने विश्वास व्यक्त गर्न चाहन्छु ।’
पर्यटन, संस्कृती तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि आचार्यप्रति श्रद्धान्जली र परिवारमा गहिरो समवेदना प्रकट गर्दै उहाँको नाममा केही नयाँ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘श्रद्धान्जली र परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । हामीले उहाँको लागि धेरै काम गर्नेछौं । नेपाल सरकार साथ मै छ । उहाँको नाममा केही काम गर्ने प्रतिबद्धता पनि गर्न चाहन्छु ।’









प्रतिक्रिया