६ असार २०८३, शनिबार

घाइते बाघको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १५ फागुन । पर्साको ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरबाट ‘डार्ट’ गरी घाइते अवस्थामा उद्धार गरिएको वयस्क पाटे बाघको मृत्यु भएको छ । घाइते अवस्थामा उद्धार गरेर निकुञ्जले खोरमा राखेर रेखदेख गर्दै आएको बाघको सोमबार बिहान मृत्यु भएको हो ।

बाराको पर्सा राष्ट्रिय निकुञ्ज आधाबारको खोरमा रहेको घाइते वयस्क पाटे बाघलाई आइतबार राति निकुञ्जका कर्मचारीले खाना दिएका थिए तर सोमबार बिहान खाना दिने समयमा बाघ मृत अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ ।

यसअघि समेत निकुञ्जको खोरमा रहेको ३ वटा पाटे बाघ मध्ये एक बघिनीको मृत्यु भएको थियो ।

करिब १० वर्ष उमेरको बाघ अर्को भाले बाघसँग जुध्दा घाइते भएको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते बाघलाई भेटेरीनरी अस्पताल तथा विज्ञ चिकित्सकको सहयोगमा उपचार भइरहेको थियो ।

उहाँले भन्नुभयो, ‘बाघलाई औषधी उपचार भइरहेको भएतापनि बचाउन भने सकिएन, मासुमा चिकित्सकको सल्लाह अनुसारनै औषधी हालेर खुवाइरहेका थियौँ तरपनि बचाउन भने सकिएन, हुनत सधै जंगलमा बस्ने, कुद्ने जनावरलाई खोरमा बचाउन नसकिने रहेछ ।’

मृत्यु भएको बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ । पर्सा राष्ट्रिय निकुञ्जमा ३ वर्षको अन्तरालमा ४ वटा वयस्क बाघले ज्यान गुमाइसकेका छन् ।

हाल पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा वयस्क पाटे बाघ छन् । संरक्षणको क्षेत्रमा गरिएको पछिल्लो प्रयासका कारण पर्सा निकुञ्जमा बर्सेनि बाघको संख्या बढ्दै गएको हो ।

१२ वर्ष अघिसम्म यो निकुञ्जमा ३ वटामात्र बाघ थिए । गत वर्ष बाघ गणना गर्दा यहाँ ४१ वयस्क बाघ रहेको पाइएको हो ।

बाघको संख्या बढेसँगै बासस्थानको अभाव हुँदा बाघहरु आफै आफै जुधेर घाइते हुने र घाइते बाघले बस्तीमा पसेर जनधनको क्षती पुर्‍याउने गर्दछन् । हाल नेपालमा ३ सय ५० वटा पाटे बाघ छन् ।