
रौतहट, १५ फागुन । सर्लाहीस्थित पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका वडा ३ मा सोमबार राति स्कार्पियो र मोटरसाइकल एक आपसमा जुध्दा रौतहटका दुई जना युवकको मृत्यु भएको छ ।
गएराति साँढे ८ बजेको समयमा भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका वडा ६, का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले बताउनुभएको छ । दुर्घटनामा घाइते दुवै युवकलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्वरको स्कार्पियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल कौडेना र मुसैलीको बीच एकआपसमा जुधेको डीएसपी थारुले जानकारी दिनुभएको छ ।
दुर्घटना लगत्तै प्रहरीले स्कार्पियो प्रहरीले नियन्त्रणमा लिएको छ तर चालक भने फरार भएको तथा उसको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव पोष्टमाटमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
भर्खरै कालोपत्रे भएको हुलाकी सडकखण्डमा चालकले तिब्रगतिमा सवारी चलाउने गरेको कारण दैनिक जसो सवारी दुर्घटना भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।









प्रतिक्रिया