
काठमाडौं, १५ फागुन । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउनुहुने पक्का भएको छ ।
उहाँ आउँदो चैत अन्तिम साता नेपाल भ्रमणमा आउनुहुने र दुई देशबीच ‘ऐतिहासिक तथा दीर्घकालीन महत्त्वका समझदारीहरू हुने’ बताइएको छ ।
नेपालीहरूको एउटा प्रमुख श्रम गन्तव्यका रूपमा रहेको कतारका सरकार तथा राष्ट्र प्रमुखले नेपाल भ्रमण गर्न लागेको यो पहिलो पटक भएको बताइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार कतारी अमिरको भ्रमणका बेलामा दुई देशबीच ‘श्रम मामिलासम्बन्धी’ केही समझदारी तथा सम्झौता गर्न लागिएको छ । त्यसका लागि कतिपय समझदारी तथा सम्झौताका मस्यौदालाई अन्तिम रूप दिने काम जारी छ ।
भ्रमणका क्रममा नेपाल र कतारबीच विकास साझेदारीसम्बन्धी समझदारीसमेत हुने बताइएको छ । समझदारीसँगै कतारले नेपालमा दाताको रूपमा विभिन्न विकास/निर्माण क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ ।
यसअघि कतारका अमिर कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । तर इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण उहाँले भ्रमण स्थगित गर्नुभएको थियो ।









प्रतिक्रिया