४ श्रावण २०८३, सोमबार

छोरी जन्मिएपछि छोडेर अस्पतालबाट आमा फरार

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १३ फागुन । वीरगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार हुनुभएको छ।

वीरगञ्जको नारायणी अस्पतालमा शनिबार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन्। सुत्केरी व्यथा लागेपछि शुक्रबार साँझ सासूसँग अस्पताल पुग्नुभएकी उहाँले जन्म दिनुभएएकी शिशु स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले बताएको छ।

अस्पतालमा रानीघाट-६ वीरगञ्जको ठेगाना टिपाए पनि उहाँहरूले दुवैजनासँग मोबाइल नभएको बताउनुभएको थियो । छोरी जन्मिएपछि सीतालाई परिवारका सदस्यले गाली गरेको स्वास्थ्यकर्मीले बताउनुभएको छ । अस्पतालमै पनि परिवारका सदस्यले तनाव दिए जस्तो देखिएको चिकित्सकहरूले बताउनुभयो । यसअघि सीताका तीन छोरी जन्मिएका थिए।

उहाँहरू फागुन १२ गते दिनभर अस्पतालमै बस्नुभएको थियो । साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर भाग्नुभएको हो । साँझपख बेडमा शिशु मात्रै देखेपछि स्वास्थ्यकर्मीले खोजी गरेका थिए, तर भेटिनु भएन ।

आइतबार मध्याह्नसम्म पनि उहाँहरू नभेटिएको अस्पतालले जनाएको छ। छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले जानकारी दिनुभयो ।

“अस्पतालमा सासु र बुहारी मात्रै आएका थिए। श्रीमान खोइ भन्दा कमाउन गएका छन् भनेर जवाफ दिएकी थिइन्,” थापाले भन्नुभयो, “छोरी जन्मेपछि सासु रिसाइरहेकी थिइन्। शिशु नै छोडेर जालान् जस्तो लागेको थिएन। हिजैदेखि खोजिरहेका छौं, भेटिएका छैन।” शिशु स्वस्थ रहेको र एनआईसीयूमा राखिएको थापाले बताउनुभयो ।

छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको अस्पतालको दाबी छ। अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराएको छ। उहाँहरूले गलत ठेगाना टिपाएर गएकाले खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताउनुभयो ।

“उनीहरूले टिपाएको ठेगानामा त्यो नाम र हुलियाको मानिस भेटिएन। पहिले नै योजना बनाएर घटना घटाएको आशंका गरेका छौं,” डीएसपी थापाले भन्नुभयो । उनीहरूको खोजतलास जारी रहेको उहाँको भनाइ छ।