
काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बालकुमारीसहित विभिन्न घटनामा प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमालेले दुई जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला दोषी देखाइएको छानबिन आयोगको प्रतिवेदन, मन्त्री ज्वालाको बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने भन्दै उठेर विरोध गर्यो ।
प्रतिपक्षी दल एमालेका सांसद उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले यसबारे सदनको ध्यानाकर्षण भएको र यसबारे सरकारलाई रुलिङ भइसकेको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो । त्यसपछि एमालेका सांसद आ–आफ्नो स्थानमा बसेपछि बैठक चलिरहेको छ ।
एमालेले बालकुमारी घटनामा छानबिन आयोगले मन्त्री ज्वालालाई दोषी देखाएकाले उहाँले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ । मन्त्री ज्वालाले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने एमालेको माग छ ।
साथै एमालेले टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यटन मन्त्री सुदन किराँतीको राजीनामा माग्दै आएको छ ।








प्रतिक्रिया