
काठमाडौं, ११ फागुन । एक दर्जन निष्कर्ष निकालेर नेपाली कांग्रेसको महासमिति बैठक सकिएको छ । दुबैजना महामन्त्रीका छुट्टाछुट्टै प्रतिवेदन, उपसभापतिको सम्वोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनको सेरोफेरोमा रुमल्लिएर महासमिति एक दर्जन निष्कर्षमा पुगेको हो ।
सभापति शेरबहादुर देउवाले देशभरबाट जुटेका बाइससय भन्दा बढी महासमिति सदस्यहरुलाई सम्वोधन गर्नुभएको थियो ।
सभापति देउवाको सम्वोधनले आशाको सञ्चार गर्न नसकेको महासमिति सदस्यहरुको मुहारमा प्रष्टसँग झल्कन्थ्यो । सभापतिको सम्वोधनले नजगाएको आशा तरुण महामन्त्रीहरुको राजनीतिक प्रतिवेदन र जोशिलो सम्वोधनले त जगाउला भन्ने आशा गरिरहेका महासमिति सदस्यहरु त्यति बेला खिस्रिक्क परेका देखिए जतिबेला ती प्रतिवेदन कर्मकाण्डी भन्न मिल्ने गरी शास्त्रीय शैलीमा प्रस्तुत भए ।
नेपाली कांग्रेस निर्वाचन अघि नै कुनै अर्को दलसँग निर्वाचन सहकार्य गर्छ कि गर्दैन भन्ने बिषय नै महासमितिको मुख्य छलफलको बिषय जस्तो देखिनपुग्यो । जसमा सभापति देउवा र महामन्त्री गगनथापावीच तात्तातो छलफल पनि चल्यो । महासमितिको मध्यान्तरतिर सहमतिको दस्तावेज बनेर प्रस्तुतभयो दुबैजनाको प्रतिष्ठा कवच बनेर । अनौठो त के भयो भने आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै प्रतिष्पर्धा गर्छ भनेर सगौरव ऐलान गर्न पनि महासमिति पछि परेन । सभापति र महामन्त्रीको प्रतिष्ठाका खातिर महासमिति सदस्यहरुले ओठ सिएर बसिदिएकाले त्यो राजनीतिक बिषयमा थप चर्चा गरिरहनु परेन ।
चियापानको होडबाजी
महासमितिको उद्घाटन अघि र पछि नेताहरुले आयोजना गरेका चियाभोजले कुनाकन्दराबाट काठमाडौं आएका महासमिति सदस्यहरुमा निराशा र खिन्नता थपेको देखियो । गुटबन्दीको जन्मजात संक्रमणबाट प्रभावित पार्टीमा यो महासमितिले एकताको नयाँ सन्देश सञ्चार गरेको हेर्न चाहेका सदस्य गुटबन्दी झनझाँगिदै गरेको पाएर कस्तो छाप बोकेर फर्किँदै होलान् भन्नेतर्फ नेतृत्वलेखासै चासो राखेको देखिएन ।
महासमिति उद्घाटनको अघिल्लो दिन ६ फागुनमा नेता शेखर कोइरालाले व्यक्तिगत तवरमा छुट्टै चियाभोजको आयोजना गरेर एउटा सन्देश प्रवाहको थालनी गरिदिनुभएको थियो । महासमिति सकिएको भोलिपल्ट ११ फागुनमा सभापति पत्नी आरजु राणा देउवाले त भव्य दिवाभोज नै आयोजना गर्नुभयो । पर्सिपल्ट अर्थात् १२ फागुन शनिबार पूर्व महामन्त्री शशांक कोइरालाले लैनचौरमा छुट्टै चियापानको आयोजना गर्नुभएको छ । शक्ति प्रदर्शनको छनक दिनेगरी सिलसिलाबद्व आयोजना गरिएका यस्ता भोजले नेपाली कांग्रेसमा एकताको सन्देश प्रवाह गरिरहेको छ कि गुटबन्दी अझ झाँगिदै गएको प्रमाण पुष्टी गरेको छ । महासमिति सकेर घर फर्किने तरखरमा रहनुभएका सदस्य यस्तो प्रश्नमा रुमल्लिईरहनुभएको देखिन्छ । चियाभोज आयोजना अन्यथा प्रवन्ध नभए पनि यसले प्रवाह गरिरहेको राजनीतिक सन्देश भने उल्लेखनीय छ । यसको दूरगामी सन्देश पनि छ ।
पारित प्रस्तावहरु
नेपाली कांग्रेसले परम्परागत शैलीमा नेपालको राष्ट्रिय स्वाधीनता र नागरिक स्वतन्त्रताका लागि पटक–पटकका क्रान्ति, संघर्ष र आन्दोलनमा सहादत प्राप्त गर्ने वीर शहीदहरुको गुणगान गाउँदै अग्रज नेताहरु तथा देश, लोकतन्त्र र कांग्रेसका लागि जीवन अर्पित गर्ने सबै पार्टी सदस्यप्रति उच्च सम्मान प्रकट गर्यो ।
साथै, जनताको पटक पटकको क्रान्ति, संर्घष र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षागर्दै संस्थागत विकास एवं संविधानले निर्दिष्ट गरेका विषयलाई आत्मसाथ गर्ने प्रण पनि गर्न चुकेन । त्यसैगरी, नेपालको संविधानको रक्षा, संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन आजको राष्ट्रिय दायित्व भएको तथ्य हृदयङ्गम साथ नागरिकको अवस्था रुपान्तरण गर्ने अठोट पनि गर्यो । चर्चामा रहेको शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालीन न्यायका विषय चाँडै टुङ्ग्याउने प्रतिबद्धता जाहेर नगर्ने कुरै भएन ।
रोचकपक्ष त के हो भने महासमितिले नेपाली कांग्रेसको महत्वपूर्ण उपस्थितिसहित निर्माण भएको गठबन्धनलाई निरन्तरता दिई वर्तमान सरकारमार्फत भ्रष्ट्राचार, बेथिति र विसङ्गतिका विरुद्ध वैधानिकरुपमै अभियान सञ्चालन गरी सुशासन र राष्ट्रिय सदाचार पद्धति स्थापित गर्न सम्पूर्ण रूपले कृतसंकल्पित रहने अठोट गर्यो र अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतीहरूलाई समाधान गर्ने जिम्मेवारी समेत बोध गर्यो ।
यो निष्कर्षले नेपाली कांग्रेस माओवादी केन्द्रलाई नेतृत्व मानेर आगामी निर्वाचनसम्म सहकार्य गरिरहन्छ भन्ने सन्देश प्रवाह भएको प्रष्ट छ ।
महासमिति बैठकमा खास महत्व नपाएको किसान, सहकारी बचतकर्ता, मिटर ब्याज र लघुवित्त पीडितहरूले भोग्दै आएका पिडालाई अविलम्ब समाधान गरी पीडितलाई न्याय दिलाउन सरकारको गंभिर ध्यानाकर्षण गराउने वाचा पनि कांग्रेसले गरेको छ ।
अनौठो पक्ष के देखिएको छ भने महासमितिको वैठकमा उपसभापतिले प्रस्तुत गरेको नीति प्रस्ताव, महामन्त्रीहरुले प्रस्तुत गरेका सांगठानिक प्रस्ताव र समसामयिक राजनीतिक प्रस्तावमा सहभागी सदस्यहरूबाट आएका सुझावहरूका आधारमा केन्द्रीयकार्य समितिले परिमार्जन सहित अन्तिम रूप दिने निर्णय पनि गरेको छ । महाधिवेशन सरहको हैसियत पाएको महासमितिको निर्णय केन्द्रीय समितिले कसरी परिमार्जन गर्ला भनेर चर्चा भैरहेको देखिन्छ ।
महासमितिले सम्झन नचाहेका बिषय
नेपाली कांग्रेसको सम्पन्न महासमितिले देशको परराष्ट्रनीति, अर्थतन्त्रको अवस्था, प्राकृतिक स्रोतसाधनको उपयोग नीति, प्रदेश संरचना र समानूपातिकनिर्वाचन प्रणालीबारे विगतलामो समयदेखि चलिरहेको चर्चा र पक्ष विपक्षमा व्यक्त भैरहेका मतहरुलाई ध्यानमा राखेर गम्भीर छलफल गरेर ठोस नीतिगत निर्णय गर्ला भन्ने आम अपेक्षा भने उपेक्षित भएको छ । देशको सबैभन्दा पुरानो राजनीति शक्ति भएका नाताले पनि देशका मूलभूत बिषयमा आफ्नो नीतिगत स्पष्टता नेपाली कांग्रेसका लागि आवश्यक थियो भनेर टिकाटिप्पणी भैरहेको देखिन्छ । नेपाली कांग्रेसले नेतृत्वमा नयाँ पुस्ताका नेताहरुलाई पाएपनि सोच विचार नीतिगत स्पष्टतामा परिवर्तनको कुनै आभास समेत पाउन नसकिएको कतिपय फरक विचारका मानिसहरुको प्रतिक्रिया देखिन्छ ।
तर गुटबन्दीमा रमाउने आदत बसेका नेताहरुले महासमिति अघि र महासमिति समापनपछि पनि चियाभोजको प्रतिष्पर्धा प्रदर्शन गरेर आफ्नो दैनिक जीवनमा परिवर्तनको अपेक्षा गरेर बसेका आमजनतालाई खिन्न पारेको देखिन्छ ।








प्रतिक्रिया