बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

माटोमा शिल्प भरेर चलेको वीरपालको जीविका

दैनिक नेपाल २०८० फागुन ९ गते ७:१७

कञ्चनपुर, ९ फागुन । माटोका भाँडाकुँडा बनाएर शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् ।

भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सात दशकअघि यता आउनुभएको हो । बाजेले गर्दै आएको काम उहाँका बुबा चिरौँजीलालले पनि निरन्तरता दिनुभयो । अहिले त्यही काम वीरपालले सम्हाल्दै आउनुभएको छ ।

वर्षौँदेखि यहाँ बस्दै आउनुभएका उहाँसँग चार कठ्ठा चार धुर जग्गाको २०२५ मा उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्र पनि छ । त्यो जग्गा निकुञ्ज विस्तारित क्षेत्रमा पर्दा उहाँले सट्टाभर्ना पाउन भने सक्नुभएको छैन । तत्कालीन पिपलाडी गाउँपालिकाको भत्तपुरीमा रहेको जग्गाको उहाँले सट्टाभर्ना नपाउनुभएको हो । “देशमा त्यसबेला सङ्कटकाल लागेको हुँदा विस्थापित हुनुपर्यो”, उहाँले भन्नुभयो, “जग्गाधनी प्रमाणपत्र भए पनि जग्गा पाउन सकिएको छैन ।”

नेपालमै उहाँको जन्म भयो, यहाँ तीन पुस्ता बित्यो । नेपाली नागरिकताका लागि पहल गरे पनि त्यो भने पाउन नसकिएको उहाँले बताउनुभयो । कञ्चनपुर जिल्लामा उहाँ एक्ला माटोका भाँडाकँुडा बनाउने व्यक्तिका रूपमा चिनिनुहुन्छ । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षको विस्तारित क्षेत्र भत्तपुरीबाट विस्थापनमा परेपछि वीरपालले भाडामा जग्गा लिएर माटोका भाँडा बनाउँदै आउनुभएको छ ।

उहाँ विभिन्न ढाँचामा आकर्षक गमला, लोटा, करुवा, घैँटो, गोलक बनाउनुहुन्छ । कम्तीमा रु १५ देखि बढीमा रु दुई सय ५० मा उहाँले बनाएका भाँडाकुँडाको किन्न पाइन्छ । यद्यपि ती वस्तुको मूल्य बजारमा फरक छ ।

वार्षिक रु चार लाख कमाइ हुने उहाँ बताउनुहुन्छ । माटो, दाउरा, जग्गाको भाडा, कामदारको ज्यालामा रु दुई लाख ५० हजार जति खर्च हुने गरेको छ । बचेको रकमले घरखर्च चल्ने गरेको उहाँले बताउनुभयो । “परिवारको लत्ताकपडादेखि राशनपानीमै काम गरेर कमाएको रकम खर्च हुन्छ”, उहाँले भन्नुभयो, “बिरामी परे अरुसँग सापटी लिनुपर्दछ ।” व्यवसाय दर्ता गरेर उहाँले काम गर्दै आउनुभएको छ । तर अन्य भारतीयले भारतबाटै भाँडाकुँडा ल्याएर सस्तोमा बिक्री गर्दा उहाँको व्यवसाय सङ्कटमा परेको छ ।

“अवैधरूपमा बजार क्षेत्रमा भारतीयले माटोका भाँडाकुँडा खुला सीमानाका हुँदै राजस्व नतिरेर भित्र्याउने गरेका छन्”, उहाँले भन्नुभयो, “मेरै नाम लिएर बेच्छन्, वडा कार्यालय र प्रहरीलाई यसबारे खबर गर्दा पनि अवैध कारोबार नरोकिँदा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ, परिवारको रोजीरोटी खोसिन थालेको छ ।” अन्य काम गर्नेका लागि सरकारले अनुदानको व्यवस्था गर्दै आए पनि कुमालेका लागि कुनै कार्यक्रम नहुँदा उहाँ हतोत्साहित हुनुहुन्छ ।

वडाध्यक्ष नवलसिंह रानाले पुर्खौँदखि वीरपालको परिवारले काम गर्दै आए पनि नागरिकता नपाउँदा अनुदानलगायत सुविधाबाट बञ्चित रहनुपरेको बताउनुभयो । “कानुनी प्रक्रिया पूरा गर्न नागरिकता चाहिन्छ”, उहाँले भन्नुभयो, “त्यो नभएपछि कुनै पनि कार्यक्रममा समावेश गर्न सकिँदैन ।”

प्रतिक्रिया
सम्बन्धित