२३ जेष्ठ २०८३, शनिबार

गोरखा मेरो उच्च प्राथामिकतामा छ: प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाले चीरकालसम्म स्मरण गर्नेगरी सो जिल्लाको विकासमा लागिपरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले गोरखाको विकासमार्फत् आफू निर्वाचनका लागि गोरखा गएको औचित्य पुष्टि गर्ने स्पष्ट गर्नुभएको हो ।

उहाँले भन्नुभयो “यसपटक नीतिगत निर्णय र बजेट बिनियोजनको कमाण्ड लिएको छु, गोरखा मेरो उच्च प्राथामिकतामा छ । सबैले महसुस गर्नेगरी काम गर्ने मेरो योजना छ ।” उहाँले जनताका अपेक्षा धेरै भएको भन्दै गोरखाको विकासमा चाहेजति ध्यान दिन नसकेको पनि उल्लेख गर्नुभयो । बिगतमा समयको दबाबले अपेक्षाअनुसारको काम गर्न नसकेको उल्लेख गर्दै उहाँले यसपटक भने आफूले गोरखालाई उच्च प्राथामिकतामा राखेको दोहो-याउनुभयो ।

उहाँले आँपपिपल अस्पतालको क्षमताअभिबृद्धिका लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको जानकारी गराउँदै केही दिनभित्र बुढीगण्डकी आयोजना शिलन्यास हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि स्रोतको सुनिश्चितता भइसकेको छ । अब केही दिनभित्रै शिलन्यास हुन्छ । यसले पनि गोरखामा मात्रै नभइ मुलुकमा नै केही राम्रो काम हुँदैछ भन्ने सन्देश जानेछ ।” उहाँले हाल बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनका लागि गम्भीर छलफल भइरहेको जानकारी गराउँदै रुग्ण उद्योगहरु सञ्चालनका लागि अध्ययन भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले कृषि क्याम्पस र कृषि तथा प्रविधिपार्क निर्माण गर्ने सोचमा आफू रहेको सुनाउनुभयो । उहाँले केही समयअघि भएको आफ्नो चीन भ्रमणका क्रममा पनि यस विषयमा छलफल भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो “चीनमा राँगा र भैँसीको मासुको माग उच्च रहेछ । गोरखामा नै यस्तो केन्द्र निर्माण गर्नुपर्छ भन्ने मेरो सोच छ । रामपुरमा बनाउने कुरा पनि भएको थियो तर मेरो प्राथामिकता गोरखामा नै छ । यसतर्फ म लागिरेहेकै छु ।”