
देउखुरी, ५ फागुन । नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य सूर्य थापाले प्रेस चौतारी नेपाल बलियो भए एमाले बलियो हुने बताउनुभएको छ ।
दाङको देउखुरीमा आज प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम साधाणसभा तथा प्रदेश भेलाको उद्घाटन गर्नुहुँदै उहाँले प्रेस चौतारीलाई बलियो बनाए एमाले बलियो बन्ने बताउनुभएको हो । त्यसका लागि उहाँले संगठनलाई बलियो बनाउन तर्फ लाग्न सुझाव दिनुभयो ।

उहाँले पार्टीका हरेक गतिविधिलाई उचाइमा पुर्याउने काम समेत प्रेस चौतारीले गरिरहेको र गरिरहनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
यसैगरी उहाँले पत्रकार महासंघ एउटा गिरोहको स्वार्थको टुकडी जस्तो बनेको टिप्पणी गर्नुभयो ।

पत्रकार महासंघमा अहिले मुसाको शासन चलिरहेको बताउनुहुँदै उहाँले प्रेस चौतारीलाई केन्द्रमा राखेर काम गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
प्रेस चौतारी लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष शोभाकर पन्थीको अध्यक्षतामा भएको साधारणसभामा एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य, एमाले दाङ जिल्ला अध्यक्ष ओम विष्ट, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे र सविन प्रियासन, महासचिव हिरामान लामा, सचिव प्रदीप आचार्य, वरिष्ठ पत्रकारहरू मोहन चापागाई, डीआर घिमिरे, भरत केसी, टीका बस्नेत, भेषराज बस्नेत, अमृत गिरी, मिलन गाहामगर र नीरू गौतम लगायतले सम्बोधन गर्नुभएको थियो ।
साधारणसभाले सातबुँदे देउखुरी घोषणा पनि जारी गरेको छ ।













प्रतिक्रिया