१ असार २०८३, सोमबार

माधव नेपाल र प्रचण्डमा राजनीतिक विचलन, चरम अवसरवाद : शंकर पोखरेल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कम्युनिष्ट पार्टीको सरकार ढालेर, पार्टी विभाजन गरी कांग्रेस नेतृत्वमा सरकार बनाउने तहसम्म आफूलाई कम्युनिष्ट भन्ने नेताहरू पुगेको बताउनुभएको छ ।

एमाले पेशागत विशेष जिल्ला कमिटीको नवौँ जिल्ला अधिवेशनलाई शनिबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै पोखरेलले मार्क्सवादी क्रान्तिकारी भनिएकाहरूको यो विचलन चानचुने नभएको बताउनुभयो ।

हामीले जित्न नसके पनि एमालेलाई हराएर अहिलेको गठबन्धनलाई गुन लगाएका छौँ भनेर माधव नेपाल भाषण गर्दै हिँड्नु भएको पोखरेलले बताउनुभयो । अहिले गठबन्धनमा माधव नेपालले त्यसैको अंश मागिरहनुभएको पोखरेलले टिप्पणी गर्नुभयो । ‘पन्ध्र, पन्ध्र वर्ष एमाले पार्टीको महासचिव भएको मान्छे एमालेलाई हराएकोमा गर्व गर्दछन्, आफूले जितेको होइन एमालेलाई हराएकोमा गर्व गर्दछन्, यसैलाई भन्छन् विचलन, यसैलाई भन्छन् अवसरवाद’ उहाँले भन्नुभयो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आज एमाले भन्दा कांग्रेसलाई मित्र ठान्ने गरेको उहाँले बताउनुभयो । त्यसैले उहाँमा पनि चरम अवसरवादका कारण राजनीतिक विचलन आएको पोखरेलको भनाइ छ ।

पोखरेलले आज जनताले नरुचाएका शक्तिहरूले गठबन्धन बनाएर शासन गरिरहेका बताउनुभयो । जनताले सबैभन्दा बढी रुचाएको शक्ति नेकपा एमाले भने सत्ता बाहिर हरेको कारण जनतामा निराशा बढेको उहाँको भनाइ छ । ‘जनताले रुचाएको शक्तिले शासन गर्न नपाउने कुरा लोकतन्त्रमा सबैभन्दा घातक हो’, पोखरेलले भन्नुभयो ।

विचार र सिद्धान्त मिल्ने बीचको तालमेल स्वाभाविक भए पनि गएको चुनावमा विचार, गन्तव्य र सिद्धान्त नमिल्नेहरूले गठबन्धन गरेका पोखरेलले बताउनुभयो । विचार नमिल्ने बीचको गठबन्धन सबैभन्दा अवसरवाद भएको उहाँले प्रष्ट पार्नुभयो । विचार नमिल्नेसँग गरिएको त्यस्तो गठबन्धनलाई उनीहरूले ठुलो उपलब्धि ठानेका पोखरेलले टिप्पणी गर्नुभयो ।

यी सबै खालका अवसरवादलाई पराजित गर्न बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको पोखरेलले बताउनुभयो । जनतामा देखिएको निराशा चिर्न र अवसरवादलाई पराजित गर्न नेकपा एमालेले मिसन २०८४ भनेको उहाँले बताउनुभयो ।

एमालेले चलाएको समृद्धिका लागि संकल्प यात्राले सामाजिक अराजकता चिर्न सहयोग पुगेको उहाँले बताउनुभयो । यसले जनतामा बढेको निराशा चिर्न पनि सहयोग गरेको उहाँले सुनाउनुभयो । पार्टीलाई थप कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्न पार्टी केन्द्रीय कमिटी बैठक बस्न लागेको पोखरेलले प्रष्ट पार्नुभयो ।

पार्टी भित्र पनि शुद्धीकरण अभियान चलाउन आवश्यक रहेको निष्कर्षमा एमाले पुगेको उहाँले बताउनुभयो । एमालेको केही खस्किएको आधारलाई बलियो बनाउन पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । पार्टीमा भित्र देखिएको अस्वस्थ प्रतिस्पर्धालाई हटाउन नसक्ने हो भने पार्टीले समाजको विश्वास र भरोसा जित्न नसक्ने पोखरेलको भनाइ छ ।