
पोखरा, ५ फागुन । साहित्यकार लक्ष्मण थापाको पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लघुकथा सङ्ग्रह शनिबार पोखरामा सार्वजनिक गरिएको छ ।
लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले कृतिको लोकार्पण गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले साथी सर्कलबाट नयाँ चिन्तन र नयाँ सिर्जनाको विकास हुने बताउँदै लक्ष्मण थापालगायतका समूहको मित्रमण्डलीले सांस्कृतिक, साहित्यिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । लघुकथा आकारका दृष्टिले सानो भएका कारणले मात्र नभई यसको क्षमताकै कारणले लोकप्रिय भएको मत राख्दै उहाँले विराट् विश्वलाई अटाउन सक्ने क्षमता लघुकथाले धारण गरेको भनाइ राख्नुभयो । मान्छेभित्रको मान्छे गुण हराइरहेको परिवेशमा हरेक मान्छेले यो धर्तीमा जन्मेर मान्छे आवरणले मात्र मान्छे छु वा वास्तविक मान्छे नै हुँ भन्ने कुरा प्रत्येक मान्छेले सोच्नुपर्ने बेलामा कृति आएको सरुभक्तले बताउनुभयो ।
कथाकार थापाले आफूलाई साथीहरूको सङ्गतले लेखक बनाएको बताउनुभयो । यो कृति पनि साथीहरूकै प्रेरणाले ल्याएको भनाइ राख्नुभयो । रोलाँ बाथको ‘डेथ अफ अथर’ को सिद्धान्तलाई आफूले स्वीकार गरेको बताउँदै उहाँले कृतिको जिम्मेवारी पाठकमा हस्तान्तरण भइसकेको बताउनुभयो ।
उहाँका यसअघि मनको मूच्र्छना (गजल सङ्ग्रह, २०६०), पलापला (गजल सङ्ग्रह, २०६५), पर्खालबाहिर (मुक्तक सङ्ग्रह, २०६६) र अक्षरहरूको मूच्र्छना (कविता सङ्ग्रह, २०७७) प्रकाशित छन् ।
माया पब्लिकेसनले प्रकाशन गरेको मान्छे हराएको मान्छेमा ७० ओटा लघुकथा समेटिएका छन् ।
लघुकथा प्रतिष्ठानका अध्यक्षसमेत रहेका थापा छोरेपाटन माविका पूर्वप्रधानाध्यापक तथा निवृत्त शिक्षकसमेत हुनुहन्छ । उहाँ नवनीत साहित्य सागरका पूर्वअध्यक्ष तथा अक्षरयात्राका परिकल्पनाकारमध्ये एक हुनुहुन्छ ।
कृतिको समीक्षा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले विषयगत विविधता ‘मान्छे हराएको मान्छे’ को वैशिष्ट्य भएको बताउनुभयो । उहाँले थापालाई कृतिका लघुकथाका आधारमा सामाजिक यथार्थवादी साहित्यकारका रूपमा चिन्न सकिने बताउनुभयो । दार्शनिक चिन्तन गर्न सक्ने कथाकारका रूपमा थापालाई स्थापित गर्ने लघुकथाहरू कृतिमा समेटिएका डा. अधिकारीको भनाइ थियो ।
कथाकार थापाको परिचय दिँदै साहित्यकार दीपक समीपले साहित्यिक भिडमा पनि अलग्गै चिन्न सकिने साहित्यिक व्यक्तित्वका रूपमा चिनाउनुभयो । थापा विचारको प्रयोग र शब्दहरूको सदुपयोग गर्न सक्ने साहित्यकारका भएको समीपको मत थियो ।
लघुकथा प्रतिष्ठानका उपाध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव अमृतले गर्नुभएको थियो ।









प्रतिक्रिया