
काठमाडौं, ५ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले बालकुमारी घटनाका मुख्य दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई तत्काल पदबाट बर्खास्त गर्न माग गर्नुभएको छ ।
एक महिना पहिले दुई जना युवाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको भन्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘एक महिना पहिले दुई जना युवाको मृत्यु हुने गरि बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको छ । मन्त्रीकै गम्भिर कमजोरी र लापरवाहीको कारण उक्त दुखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा उहाँलाई एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट छैन, तत्काल उहाँलाइ मन्त्री पदबाट बर्खास्त गरिनुपर्छ र प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडी बढाइनुपर्छ ।’ शनिबार बिहान सामाजिक सञ्जालमा लेख्नुहुँदै सचेतक बर्तौलाले भन्नुभएको छ, ‘यदि यती ठूलो घटनाको मुख्य दोषी मन्त्रीलाई चाँही उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामा ल्याउने प्रयत्न गरियो भने त्यो कदापी न्यायोचित र स्विकार्य हुने अवस्था रहँदैन, त्यसैले यस सन्दर्भमा अब सम्माननीय प्रधानमन्त्री स्वयम् पनि २४ घन्टे परिक्षामा पर्नुभएको छ हेरौँ रिजल्ट कस्तो आउँदो रहेछ ।’









प्रतिक्रिया