२० असार २०८३, शनिबार

सक्कली प्रचण्डको प्रतीक्षामा नक्कली प्रचण्ड

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’का लागि वर्ष २०७२ र २०८० जीवनकै स्मरणीय वर्ष हुन् । २०७२ को भूकम्पले उनको घर ढलायो । त्यसको आठ वर्षपछि अर्थात् २०८० मा उहाँलाई क्यान्सरले गलायो । गत साउनमा शरीरमा क्यान्सर देखिएपछि उहाँले एकचरणको अप्रेसन पूरा गरेर नियमित रुपमा किमोथेरापी लिइरहनुभएको छ ।

घनश्याम नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नक्कल गरेरै दर्शकमाझ चिनिनुभयो । स्वदेश होस् या विदेशका दर्शकले उहाँलाई ‘नक्कली प्रचण्ड’ नै भनेर चिन्दछन् ।

२०७२ वैशाख १२ को भूकम्पले भत्काएको घनश्यामको भक्तपुरको कटुञ्जेस्थित घर हेर्न सक्कली प्रचण्ड असारमा केही कलाकारसहित पुग्नुभएको थियो । अहिले दोस्रो चरणको क्यान्सरको उपचार गराउन नियमित अस्पताल धाई रहेका घनश्याम उनै प्रचण्डसँग भलाकुसारी गर्न पर्खिइरहनुभएको छ ।

‘भूकम्पले घर भत्काएपछि म र परिवार पालमा बसेका थियौं । कान्तिपुरमा पत्रकार फूलमान बलले फोन गरेर समाचार लेख्नुभएको थियो । त्यो समाचार कान्तिपुरको पहिलो पृष्ठमै थियो’, घनश्याम सम्झनुहुन्छ, ‘त्यो समाचारबारे प्रचण्डज्यूले थाहा पाउनुभएपछि संगीतकार तथा गायक चेतना सापकोटाको समन्वयमा मलाई भेट्न आउनुभएको थियो । चेतन सापकोटाले ‘तपाईंको चरित्र निर्वाह गरेर दर्शकमाझ चिनिएका कलाकार हुन् । भेट्न जानुपर्छ’ भनेपछि उहाँ आउनुभएको रहेछ ।’

त्यस बेला प्रचण्ड त्रिपाल, टेन्ट र खाद्य सामग्री लिएर घनश्यामसहित अन्य भूकम्प पीडितलाई भेट्न कटुञ्जे पुग्नुभएको थियो । भूकम्पमा परी घाइतेसमेत हुनुभएका घनश्यामले त्यो समयमा आफ्नै बलबुतामा उपचार गर्नुभयो । भूकम्प कम हुँदै गएपछि उहाँले घर पनि बनाउनुभयो । जीवनलाई सहज रुपमा चलाउन सुरु गर्नुभयो । तर, अहिले घनश्यामको जीवनको अवस्था २०७२ को जस्तो छैन । गत साउनमा शरीरमा क्यान्सर भएको थाहा पाएपछि कलाकारसँग सम्बन्धित संघसंस्थादेखि शुभचिन्तकको आर्थिक सहयोगमा उहाँले उपचार गरिरहनुभएको छ । उहाँकै भनाईमा हालसम्म उपचारमा झण्डै १६ लाख खर्च भइसकेको छ ।

घनश्याम बिरामी भएपछि आफन्त तथा शुभचिन्तकले ‘प्रचण्ड भेट्न आउनुभएन ?’ भनेर बारम्बार प्रश्न गर्छन् । पत्रकारले पनि उहाँलाई यही प्रश्न सोधिरहन्छन् ।

प्रचण्डको पर्खाइ

घनश्याम बिरामी भएको थाहा पाएपछि उहाँलाई भेट्न आउने अधिकांशले ‘प्रधानमन्त्रीसम्म खबर पु¥याउँछु’ भनेर आश्वासन दिए । नेपाल चलचित्र कलाकार संघको एक टोली नै पुगेर उहाँलाई आर्थिक सहयोग गरेको थियो । त्यो बेला पनि प्रधानमन्त्रीसम्म खबर पुर्‍याउन पहल गर्ने कुरा पनि भएका थियो ।

उहाँलाई स्वास्थ्यमन्त्री मोहन बस्नेतले पनि फोन गरेर स्वास्थ्य अवस्था बुझी सहयोगको आश्वासन पनि दिनुभएको थियो । ‘व्यक्तिगत, संघसंस्थाले दिने सहयोग त छँदैछ, राज्यबाट पनि कलाकारलाई हेर्नुपर्छ भन्ने कुरा उठेपछि दर्जन बढी संघसंस्था र व्यक्तिले प्रधानमन्त्री समक्ष कुरा पु¥याउँछु भनेर आश्वस्त पार्नुभयो । तर त्यो कुरा कहाँसम्म पुग्यो अथवा प्रधानमन्त्रीसम्म पुग्यो वा पुगेन भन्ने जानकारी मलाई कसैले दिएन,’ उहाँ भन्नुहुन्छ ।

कलाकार कृष्ण मल्ल, मोहन निरौला, सबिन श्रेष्ठ, पत्रकार कृष्ण कँडेल र चलचित्र विकास बोर्डमार्फत प्रधानमन्त्री प्रचण्डलाई कुरा पु¥याउने चासो भइरहँदा घनश्यामकी कलाकार दिदी साधना सिटौलाले उहाँलाई सुखद समाचार दिनुभयो । उहाँका गृहजिल्लाका एमाले नेता अग्नी खरेलले समेत चासो दिएपछि अग्नीले प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्ललाई घनश्यामको बारेमा जानकारी दिनुभएको थियो ।

‘रमेश मल्लले मेरो बारेमा सबै कुरा थाहा पाएपछि अस्पतालको सबै कागजपत्र उहाँलाई बुझाएका थियौं । मैले पाएको जानकारी अनुसार कागजपत्र अध्ययन पश्चात त्यो स्वीकृत भएको छ । त्यो कागजपत्रलाई अहिले गृह मन्त्रालय पठाइएको र त्यहाँबाट अर्थ मन्त्रालय पुगेपछि पैसा निकासा हुने भन्ने सुनेको छु । कति निकासा हुन्छ भन्ने जानकारी आएको छैन’, उहाँ भन्नुहुन्छ ।

आशावादी घनश्याम

घनश्याम आफूलाई प्रधानमन्त्री प्रचण्डले माया गर्ने मान्छेका रुपमा चिनाउँनुहुन्छ । भूकम्प गएको समयमा आफ्नो घरमै आइपुगेका प्रचण्ड अहिले आफू बिरामी हुँदा पनि भेट्न आउनेमा घनश्याम आशावादी हुनुहुन्छ ।
‘उहाँ कलाकारलाई माया गर्ने मान्छे हो । म उहाँकै नक्कल गरेर दर्शकमाझ चिनिएँ । उहाँको छोरी पनि क्यान्सर भएर बित्नुभयो । क्यान्सर रोगको पीडाबारे उहाँ धेरै जानकार पनि हुनुहुन्छ’, घनश्याम भन्नुहुन्छ ।
परबाट अरुको कुरा सुन्नु र नजिक आएर कुरा गर्नु फरक विषय हो भन्ने घनश्यामको बुझाई छ । ‘मलाई प्रधानमन्त्रीज्यूसँग भेटेर धेरै कुरा गर्न मन छ । नजिक भएर कुरा गर्दा बिरामीको अवस्था, आवश्यकताबारे कुरा थाहा हुन्छ । उहाँसँग कुरा हुँदा बाँकी उपचारमा अस्पतालले कसरी सहयोग गर्छ भन्ने पनि थाहा हुन्थ्यो । बाँकी उपचारको खर्च मिनाहा गरिदिनुभयो भने मेरा लागि धेरै राहत हुन्थ्यो,’ प्रचण्डको बाटो हेरिरहेका घनश्याम भन्नुहुन्छ ।

यसरी थाहा पाए क्यान्सर

घनश्याम वल्र्ड भिजनको प्रोजेक्ट अन्तर्गत नाटकको अभिनय तालिममा व्यस्त हुनुहुन्थो । टेलिभिजनमा अभिनय गरिरहे पनि उहाँ सुटिङ काम गरेर बढी ध्यान तालिममा दिइरहनुभएको थियो । ‘काम गरिरहँदा सुरुमा पखाला लाग्यो । विस्तारै दिशामा रगत देखिन थालेपछि पायल्सको लक्षण होला भनेर आयुर्वेदिक औषधि खाएँ । केही समय ठीक भए जस्तो भए पनि पछि एकदमै गाह्रो भयो । दिनमा १५ पटकसम्म शौचालय जानुपर्ने अवस्था आयो’, घनश्याम सम्झनुहुन्छ, ‘असह्य भएपछि म केएमसीमा गएँ । त्यहाँ चेकजाँच गरेर रिपोर्ट भारत पठाएको पन्ध्र दिनमा आन्द्रामा ट्युमर देखिएको रिपोर्ट आयो । डाक्टरले मलाई त केही भन्नुभएन, तर श्रीमतिलाई भनेपछि उनी रुँदै म कहाँ आइन् । श्रीमति रोएको देखेपछि मलाई पक्कै केही भयो भन्ने झस्का पसिसकेको थियो ।’

उपचारमा संलग्न डाक्टरहरुले ‘सेकेण्ड स्टेजको क्यान्सर भएको र उपचार हुन्छ’ भनेपछि घनश्याम आफू स्वस्थ हुनेमा ढुक्क हुनुहुन्छ । क्यान्सर धेरै विकसित नभइसकेकाले पनि आफू ठीक हुनेमा घनश्याम विश्वस्त हुनुहुन्छ ।

सुरुवातमा गाह्रो

घनश्यामका अनुसार सुरुवाती समयमा उहाँलाई क्यान्सरले निकै गलाएको थियो । खानै नरुच्ने र खानै मन पनि नलाग्ने अवस्था थियो । जसकारण उहाँ सिथिल हुनुभयो । शरीर पनि विस्तारै सुक्दै गयो । ‘पहिलाको मोटोघाटो म क्यान्सर देखिएपछि घट्दै गएँ । सुरुमा केही डर भए पनि अहिले त्यो डर छैन । आत्मविश्वास बढेको छ । किमोले शरीर भित्रका किटाणु नास गर्ने भए पनि शरीरका प्रतिरोध क्षमता बढाउन नियमित रुपमा औषधि सेवन गरिरहेको छु । त्योसँगै मसँग आत्मविश्वास पनि बढेको छ’, अनुहार चम्किलो बनाउँदै घनश्याम भन्नुहुन्छ ।

बिरानो साथीभाई

घनश्यामले अहिले प्रधानमन्त्री प्रचण्डलाई जति सम्झनुहुन्छ, त्यति नै आफ्ना साथीभाईलाई पनि सम्झनुहुन्छ । स्वस्थ हुँदा उहाँले जति साथीभाई कमाए, अहिले बिरामी भएर घरदेखि अस्पताल धाइरहँदा उहाँका साथीभाई नगन्यमात्र उहाँलाई भेट्न आउने गरेका छन् ।

‘बलेको आगो सबैले ताप्दा रहेछन् । म जतिखेर काम गर्थे, प्रहसन गर्थे, तालिम दिन्थे, जसको काम गर्थे, जसले काम दिन्थे, उनीहरु सबै मेरो सम्पर्कमा आउँथे । माया गर्थे’, भावुक घनश्याम भन्नुहुन्छ, ‘अहिले बिरामी भएपछि त्यो माया, आत्मियता नहुँदो रहेछ । बरु मिडियाबाट मैले साथ सपोर्ट पाइरहेको छु ।’

उहाँले आफूले काम गरेको पारिश्रमिक पनि पाउन सक्नुभएको छैन् । स्कुलमा पढाएको पैसा पनि पाउन सक्नुभएको छैन् । ‘म बिरामी भए पनि फेसबुकमा अपडेट छु । स्वस्थ हुँदा मलाई माया गर्ने मान्छेहरुले फेसबुकमा लाइक र कमेन्ट पनि गरेका छैनन् । मलाई यो मान्छेले माया गर्छ भन्ने लागको थियो, ती मान्छे बिरामी भएपछि भेट्न पनि आएका छैनन्’, उहाँ भन्नुहुन्छ, ‘रेडियो, टेलिभिजनमा काम गर्दा मैले आइडल मान्ने दाजु दिदीहरुले पनि ‘म आउँछु’ भनेर आश्वासन मात्र दिइरहनुभएको छ ।’ उहाँले काम गरेको पैसा उठाउने हो भने अधिकतम चार लाख रुपैंयाँसम्म छ ।

घनश्याम हाँस्यव्यंग्य र प्रहसनबाट चिनिनुभयो । तर दुःखको कुरा उहाँलाई भेट्न हाँस्यव्यंग्य क्षेत्रकै मान्छे कमैमात्र आएका छन् । बरु फिल्म क्षेत्रमा मान्छेहरु उहाँलाई भेट्न गइरहन्छन् । ‘फेसबुकमा नचिनेका साथीहरुले सहयोग गरिरहेको देख्दा भावुक बनेको छु’, घनश्याम भन्नुहुन्छ ।

घनश्यामको आन्द्राको एकचरणको अपरेसन भइसकेको छ । उहाँको मलद्वारमा पाइप जोडेर शरीरमा एउटा ब्याग राखिएको छ । उहाँ त्यही दिशा गर्छन्, पिसाब गर्न चाहिँ शौचालय नै जानुहुन्छ ।

क्यान्सरले जीवन बुझेका घनश्याम

घनश्यामको अनुभवमा क्यान्सर भएपछि उहाँले जीवनलाई नजिकबाट बुझ्ने मौका पाउनुभयो । ‘मैले धेरै ठाउँमा तालिम दिँदा जीवन, आत्मविश्वासको पाठ पनि पढाएँ । म मोटिभेसनल स्पिकर भएकाले पनि जस्तै सुकै समस्या पर्दा डटेर सामना गर्नुपर्छ भन्ने पढाएको थिएँ’, अनुहार उज्यालो बनाउँदै घनश्याम भन्नुहुन्छ,‘त्यो अहिले ममा लागु भएको छ । जीवनबाट हार खानु सिकाई होइन, त्यसलाई कसरी फेस गर्ने भन्ने सिकाई हो जस्तो लागेको छ । क्यान्सर भएपछि जीवनमा अझ जिउनुपर्छ, बाँच्नुपर्छ भन्ने विश्वास जाग्यो । औषधि पनि आत्मविश्वासको आधार हुँदो रहेछ ।’

ढुक्क घनश्याम

अर्को चरणको अप्रेसन पछि आफू पुनः काममा फर्कनेमा घनश्याम ढुक्क हुनुहुन्छ । अहिले राम्ररी खाना खान थाल्नुभएका उहाँलाई खानाले पनि तागत दिँदै गएको छ । ‘डाक्टरको निगरानीमा उपचार भइरहेको छ । अर्को अपरेसन पछि ठूलो आन्द्रामा पाइप राख्ने कुरा भएको छ । त्यसपछि स्वास्थ्य लाभ गरेर म काममा फर्कनेछु’, मुस्कुराउँदै उहाँले भन्नुभयो, ‘ममा आत्मविश्वास बढ्दै गएको छ । एकपटक प्रधानमन्त्रीसँग भेट गर्न पाएँ भने त्यो आत्मविश्वास झन बढ्नेमा ढुक्क छु ।’

घनश्यामको कलायात्रा

४१ वर्षअघि झापाको गौरादहस्थित जोरघरेमा जन्मिनुभएका घनश्यामले ११ वर्षको उमेरदेखि हातेमालो रेडियो कार्यक्रमबाट कलाकारिता यात्रा सुरु गर्नुभयो । उहाँले हालसम्म ३ हजारभन्दा बढी रेडियो नाटक, हजारौं सडक नाटक तथा सयौं स्टेज नाटकमा अभिनय गरिसक्नुभएको छ ।

स्क्रिप्ट लेखक, कलाकार, गीतकार र निर्देशक समेत रहनुभएका उहाँले ‘मेरी बास्सै’, ‘झ्याइँकुटी झ्याइँ’, ‘जिरे खोर्सानी’, ‘गोलमाल’, ‘टेन टु फाइभ’, ‘खासखुस’, ‘हाक्काहाक्की’जस्ता टेलिफिल्ममा अभिनय गर्नुभएको छ । उहाँले ‘शेरे द शेरबहादुर (जोक्स सिरिज)’, ‘ट्वाकेन्द्र निवास’जस्ता कमेडी टक शो पनि चलाउनुभएको छ ।