३ असार २०८३, बुधबार

हरेक हिसाबले यो सरकार असफल छ : शंकर पोखरेल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले राष्ट्रिय हितका प्रश्न र जनसरोकारका सवालमा सरकारका विरुद्ध सशक्त आवाज उठाउने बताउनुभएको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटीको तेस्रो बैठकलाई शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले देश र जनताको हित विरुद्धका क्रियाकलाप अब एमालेले टुलुटुलु हरेर बस्न नसक्ने बताउनुभयो । एमाले अब मिसन २०८४ मात्रै भनेर नबस्ने पोखरेलले प्रष्ट पार्नुभयो ।

पोखरेलले वर्तमान सरकारको भ्रष्टाचार, तस्करी, कालोबजारी विरुद्ध जनपरिचालनको काममा उत्रिन अनेरास्ववियुलाई आग्रह गर्नुभयो । ‘हरेक हिसाबले यो सरकार असफल छ, इतिहासमा यति अयोग्य सरकार थिएन, यसका विरुद्धको आवाज सशक्त भएन भने अनेरास्ववियुको औचित्य पुष्टि हुन सक्दैन’, उहाँले भन्नुभयो ।

मुलुकलाई सही बाटोमा अघि बढाउने हो भने राजनीतिमा दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्ने उहाँले बताउनुभयो । पोखरेलले जसले जानेको ज्ञानलाई व्यवहारमा लागु गर्दछ त्यो नै क्रान्तिकारी हुने बताउनुभयो । कुरा एउटा गर्ने काम अर्को गर्नेहरू जाली र अवसरवादी हुने पोखरेलको भनाइ छ । समाज परिवर्तनका लागि ज्ञानलाई व्यवहारमा परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘वास्तवमा क्रान्तिकारी त्यो हो, जसले जानेको ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्दछ’, पोखरेलले भन्नुभयो ।

शास्त्रमा लेखिएको ज्ञानले मात्र समाज नबदलिने पोखरेलले बताउनुभयो । ‘जीवनसँग नजोडिने सिद्धान्त मरेतुल्य हुन्छ, यसलाई अर्को अर्थमा पनि लिन सकिन्छ, व्यवहार बिनाको ज्ञानको कुनै अर्थ छैन’, उहाँले भन्नुभयो ।

पोखरेलले वैचारिक र राजनीतिक कामको अभावमा अवसरवाद जन्मिने बताउनुभयो । ‘जब हामी वैचारिक र राजनीतिक काम कम गर्दछौँ, अवसरवाद मौलाउँदै जान्छ’, पोखरेलले भन्नुभयो ।

नेपालको शासन व्यवस्थामा देखिएको समस्या समाधान गर्ने काम एमालेले मात्र गर्न सक्ने पोखरेलले बताउनुभयो । एमालले छोटो समय देश सञ्चालन गर्दै तिव्रतर देश विकासको काम गरेको उहाँले स्मरण गराउनुभयो ।