
रौतहट, ३ फागुन । देशकै सबभन्दा ठूलो फर्निचर मेला रौतहटको जयनगर चौकमा सुरु भएको छ। श्रीपञ्चमी अवसर पारेर जयनगरमा प्रत्येक वर्ष लाग्दै आएको फर्निचर मेला यस पटक पनि बुधबारदेखि सुरु भएको हो ।
गौर चन्द्रनिहापुर सडकखण्डअन्तर्गत गरुडा बजारभन्दा तीन किलोमिटर दक्षिण जयनगर चौकमा सुरु भएको फर्निचर मेला देशकै सबभन्दा ठूलो काठको फर्निचर मेला भएको आयोजकले दाबी गर्दै आएको छ । नेपाल विश्वकर्मा बजार समितिको आयोजनामा जिल्लाको मध्य भाग गरुडा नगरपालिका १ जयनगरमा पछिल्लो डेढ दशकदेखि फर्निचर मेला लाग्दै आएको छ ।
मेलामा घरायसी प्रयोजनका साथै कृषिमा प्रयोग गरिने घरेलु यन्त्र काठको फर्निचर र फलामका विभिन्न सामग्री खरीद बिक्री हुने गर्दछ । रौतहट जिल्लाको धार्मिक स्थल शिवनगरमा श्रीपञ्चमी अवसरमा लाग्ने मेलामा रौतहट, सर्लाही, महोतरी, बारा, पर्सा लगायत सीमावर्ती भारतका हजारौं भक्तजनहरू मेलाभर्न आउने गर्दछन् ।
मेला भर्न आउने यात्रु तथा भक्तजन जयनगरस्थित फर्निचर मेलामा समेत अवलोकन गर्न जाने गर्दछन् । उक्त मेलामा साल, सिसम, टिक, आँप लगायत जातको काठ प्रयोग गरी बनाईएको बक्स पलङ सेट, डाइनिङ टेबल सेट, कुर्सी, खाट, ब्रेन्च, ढोका, ड्रेसिङ टेबल, झ्याल, दराज, सस्तो मूल्यमा खरिद बिक्री हुने गरेको गरुडा ६ का वडा अध्यक्ष रामबाबु चौधरीले बताउनुभएको छ । मेलामा फलामको कोदालो, हँसिया, कुटो, बञ्चरो, खुकुरी लगातका सामग्री टाढा टाढा बाट आएका मिस्त्रीले त्यहीं बनाएर बिक्री गर्ने गर्दछन् ।
आफैले खरिद गरी ल्याएको काठ र आफै मिस्त्री भएर फर्निचर बनाउने हुनाले तुलनात्मकरूपमा अन्य स्थान भन्दा उक्त मेलामा ल्याइने फर्निचर सस्तो मूल्यमा बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् । परापूर्वकालदेखि तराई मधेशमा विहेवारीमा काठको फर्निचर अनिवार्य दिनुपर्ने भएकाले त्यस्ता अभिभावकको लागि सस्तो बजारको रूपमा रहेको छ जयनगर फर्निचर मेला ।
विहेवारीमा छोरीचेली लाई दाईजो स्वरूप फर्निचर दिन रौतहट, सर्लाही, बारादेखि भारतीय क्षेत्रका हजारौं मानिस वर्षेनी जयनगर मेला बाट सस्तोमा काठको फर्निचर खरिद गरेर लैजाने गरेको कटहरिया नगरपालिका ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले बताउनुभएको छ ।
त्यसैगरी पक्की घर निर्माण गर्नेहरूसंगै आफ्नो घरायसी प्रयोजनको लागि पनि यहीँ बाट विभिन्न जातको काठको सामग्री, फलामको सामग्री खरीद गरी लैजाने गरेको वडा अध्यक्ष कुशवाहाले जानकारी दिनुभयो । जयनगर मेलामा बिक्री गर्न लोहार जातीका फर्निचर मिस्री तथा व्यवसायीले केही महिना अघिदेखीनै त्यहीँ बसेर काठको फर्निचर तथा फलामको विभिन्न औजार बनाउने गर्दछन् । जयनगरस्थित वर्सेनी विस्तार हुँदै गएको फर्निचर मेलालाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको आयोजकले जनाएको छ । अहिलेदेखि चैत महिनासम्म लाग्ने फर्निचर मेलामा यसपटक पाँच करोड रुपैयाको कारोबार हुने आयोजकले लक्ष्य लिएको छ । गतवर्ष मेलामा चार करोड रुपैयाँको कारोबार भएको बताइएको छ।
तुलनात्मक रूपमा मा यसपटक व्यावसायीको संख्या बढेको देखिएको छ। दशकौँ देखि शिवनगर महादेव स्थानसँगै लाग्दै आएको फर्निचर मेला २०६५ सालमा मन्दिरका महन्तसँग विवाद भएपछि सोही समयदेखि त्यहाँबाट दुई किलोमिटर दक्षिण जयनगर चौकमा प्रत्येक वर्ष लाग्दै आएको छ । आयोजकले मेलामा बिजुली पानीको निःशुल्क व्यवस्थाका साथै शान्ति सुरक्षाको व्यवस्था समेत गरिएको जनाएको छ ।








प्रतिक्रिया