१५ असार २०८३, सोमबार

अर्थतन्त्रका सबै सूचक सबल, अब अझ सही दिशामा बढ्नेछ : अर्थमन्त्री

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । अर्थमन्त्री प्रकाशशरण महतले अहिले अर्थतन्त्रका हरेक सूचकहरु सकारात्मक रहेको बताउँदै अबका दिनमा समेत सकारात्मक दिशा उन्मुख रहने बताउनुभएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सोमबार सार्वजनिक गर्दै उनले आर्थिक गतिविधिहरु बढेपनि बजेट व्यवस्थापनमा चुनौती रहेको स्वीकार्नुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक गतिविधि सुस्ताएको बेला म अर्थमन्त्रालयको नेतृत्व सम्हाल्न आएको हुँ । यसका लागि धेरै तयारी गर्नुपर्‍यो । आर्थिक सुधारको विषय तत्कालै समाधान हुने विषय होइन, अहिले अधिकांश सूचकहरुमा सुधार छन्, यो क्रम अझै अझै सुधारउन्मुख हुँदै जानेछन् ।’
लक्ष्यअनुसार सूचकमा सुधार नआएको भएपनि बैंकिङ तरलतामा सुधार आएको उहाँको दाबी थियो ।

उहाँले अघि भन्नुभयो, ‘बैंकिङ तरलतामा सुधार आएको छ । ब्याजदर घट्दो क्रममा छ । शोधनान्तर स्थितिमा सुधार आएको छ । वैदेशिक लगानीको प्रतिबद्धतामा वृद्धि भएकाले औद्योगिक क्षेत्र सञ्चालनका लागि सकारात्मक संकेत देखिएको छ ।’

पर्यटन क्षेत्रमा उल्लेख्य सुधार भएको बताउँदै अर्थमन्त्री महतले पुस मसान्तसम्ममा ५ लाख ६० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेको बताउनुभयो । गत वर्षको यही अवधि यो संख्या जम्मा ३ लाख ९० हजार मात्र थियो । सरकारले मूल्यवृद्धिलाई ६.५ प्रतिशतमा झार्ने घोषणा गरेको थियो । ८ प्रतिशतबाट अहिले औसतमा ६.४७ प्रतिशत मा झरेको उहाँको भनाइ छ ।

त्यसैगरी, बैंकको ब्याजदर घटेसँगै २.६ प्रतिशतले वित्तीय सुधारको सूचक बढेको उहाँको भनाइ छ । बैंक तथा वित्तीय क्षेत्रमा जाने कर्जा ४ प्रतिशतले बढेको बताउँदै अर्थमन्त्री महतले धितोपत्र २४ अर्ब ४८ करोड रुपैयाँ बराबरको थप दर्ता नभएको जानकारी दिनुभयो ।