३१ जेष्ठ २०८३, आइतबार

अरुण चौधरी छोड्ने न्यायाधीश अपराधी : नरबहादुर विष्ट

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिनुभएको छ ।

सोमबारराष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्नुभएका उहाँले काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिएको भन्दै आक्रोश पोख्नुभएको हो । उहाँले न्यायाधीशमाथि भ्रष्टाचारी र अपराधीको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज भ्रष्टाचारीलाई कारबाही गर्दै गर्दा न्यायालयले २ दिनमै छोड्ने प्रवृत्ति जुन छ । व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाको आफ्नै क्षेत्राधिकार छन् तर कार्यपालिकाले गरेका कामहरुलाई पनि हस्तक्षेप गर्ने जुन न्यायपालिकामा अवस्था छ । मैले आज न्युज सुनेँ । अरुण चौधरीलाई दुई दिनभित्रै छोड्ने न्यायाधीश मुगु सरुवा भयो रे । कारबाहीस्वरूप । मुगु भनेको नेपालमै हो । मुगुमै किन सरुवा गर्नुपर्‍यो । त्यो अनैतिक हो, भ्रष्टाचारी हो, त्यो अपराधीलाई दण्ड दिने ठाउँमा उसलाई न्यायपरिषद्ले कारबाही गर्नुपर्दथ्यो । सरुवा गरेर त त्यहाँ पनि त त्यस्तै गर्ला उसले। त्यसैले यो बिडम्वनाको कुरा हो ।’

उहाँले अपराधीलाई दण्ड दिनुपर्ने भन्दै सरुवाको सट्टा न्यायाधीशलाई कारबाही गर्नुपर्ने बताउनुभयो । बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण कुमार चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको मुगुमा काज सरुवा भएको छ ।

सरकारले थुप्रै राम्रा काम गर्दागर्दै पनि देशमा फेरि पनि भ्रष्टाचार र गरिबीले आक्रान्त बनाएको बताएका उहाँले भ्रष्टाचारको छानविन र कारबाहीको लागि बनाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको काममा पनि विस्वास गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रको शत्रु भ्रष्टाचार भएको बताएका उहाँले पक्ष र प्रतिपक्ष नभनि भ्रष्टाचार निवारणमा एक भएर लाग्नुपर्नेमा जोड दिँदै एक शक्तिशाली आयोगको माग गर्नुभयो ।