३१ असार २०८३, बुधबार

अब चाँडै राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्ने मेयर हर्क साम्पाङको घोषणा

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, २८ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले नगर प्रमुखको कार्यकक्षबाट आफैँले हटाएको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर चाँडै आफूले राख्ने बताउनुभएको छ ।

आइतबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विज्ञान, शिक्षा तथा प्रविधि मन्त्री अशोककुमार राई प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथि मेयर साम्पाङले भन्नुभयो, ‘मैले सधैँका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएको होइन, चाँडै लगाउँछु ।’

मन्त्री राईतिर हेर्दै केन्द्रीय सरकारको ध्यान दिलाउन मात्र फोटो हटाएको बताउँदै उनले अब चाँडै राख्छु भन्नुभएको हो । सरकारको ध्यानाकर्षण गर्न आफूले एकल आन्दोलन गर्दै आएको बताउँदै उहाँले, ‘केन्द्रको ध्यान जान थालेकोले तस्बिर चाँडै राख्ने बताउनुभयो ।

सङ्घीय सरकारले धरानका मुख्य समस्या खानेपानीको सहजताका लागि ठुलो योजना ल्याउनु पर्ने उहाँको भनाइ छ । आफूले धेरैतिरको पानी ल्याउँदा पनि नपुगेपछि केराबारी पुगेकोमा त्यहाँबाट पानी नदिएको सुनाउँदै भने, ‘समस्या समाधान गर्न कोशीबाट ल्याउन केन्द्र सरकारले योजना दिनुपर्छ ।’

धरानको अर्को मुख्य समस्या यहाँको फोहोर मैलाको व्यवस्थापन भएकाले त्यसको लागि केन्द्र सरकार योजना चाहिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘हामीले इन्जिनियरिङ क्याम्पसमा आविष्कार केन्द्र खोल्दै छौँ । त्यसमा सरकारी सहयोग चाहिएको छ । धरानको विकास गर्ने हो भने एयरपोर्टको योजना दिए हुन्थ्यो ।’

धरान कृषिमूलक सहर नरहेर आवासीय सहर भएकोले त्यसै अनुसारको योजनाहरू आवश्यक भएको उहाँले बताउनुभयो । सरकारबाट सहरको वर्गीकरणका लागि सुझाव माग भएकोमा यहाँका विज्ञहरूको राय अनुसार धरान उपमहानगरपालिकाबाट धरान आवासीय सहर भएको लिखित सिफारिस पठाइएको मेयर हर्क साम्पाङले बताउनुभयो ।